नेपाली जुटमा भारतको एन्टी डम्पिङ शुल्क कायमै, माग घटेपछि निकासी १ अर्बले घट्यो

७ वर्षदेखिको एन्टी डम्पिङ शुल्क र मूल्य अन्तर प्रमुख कारक



विराटनगर । भारतले सात वर्षदेखि एकतर्फी रुपमा लगाउँदै आएको एन्टी डम्पिङ शुल्कका कारण र सस्तो श्रम लागतमा उत्पादित भारत र बंगलादेशका उत्पादनसँग मूल्यमा प्रतिष्पर्धा गर्न नसक्दा नेपाली जुटका तयारी वस्तुको निकासी एक अर्ब रुपैयाँले घटेको छ ।

निकासी घट्नुमा एन्टी डम्पिङ शूल्क मात्र कारक नभई सस्तो श्रम लागतमा उत्पादन भएका भारत र बंगलादेशका उत्पादनका अगाडि भारतीय बजारमा नेपाली जुटका तयारी वस्तुको माग हवात्तै घटनु अनि विश्वव्यापी आर्थिक मन्दीको प्रभाव पनि थप कारक भएको सम्बद्ध उद्योगीको तर्क छ ।

पछिल्लो समय भारतीय बजारमा नेपाली जुटको माग घट्दो छ । माग नै नभएपछि निकासी गर्ने कुरै भएन । एक उद्योगीले निकासी नहुँदा बैशाखदेखि साउनसम्म हरेक उद्योगले एक/एक सिफ्ट उत्पादन नै घटाएको बताउँछन् ।

‘अहिले दुवै सिफ्टमा उत्पादन सुरु गरे पनि निकासी न्यून हुँदा उद्योगले उत्पादन मौज्जाद राखेका छन्,’ उनले भने ।

सुनसरी मोरङ औधोगिक क्षेत्रमा स्थापना भएका एक दर्जन जुट उद्योग मध्ये अहिले सञ्चालनमा रहेका विभिन्न ६ वटा उद्योगले बंगलादेश र भारतबाट कच्चा जुट आयात गरेर तयारी वस्तु भारत निकासी गर्दै आएका छन् । जुटका अन्य ६ उद्योग भने बन्द भइसकेका छन् ।

निकासीका लागि उत्पतिको प्रमाणपत्र जारी गर्ने उद्योग संगठन र मोरङ उद्योग व्यापार संघका अनुसार नेपाली जुटका तयारी वस्तु निकासी हुने प्रमुख नाका जोगबनी हो । यो नाकाबाट अघिल्लो आर्थिक वर्षको तुलनामा गतवर्ष एक अर्बले जुटका तयारी वस्तुको निकासी घटेको छ ।

आर्थिक वर्ष २०७९/८० मा जोगबनी नाकाबाट ७ अर्ब ६७ करोड ३१ लाख मूल्यका जुटका तयारी वस्तु निकासी भएको थियो भने आर्थिक वर्ष २०८०/०८१ मा ६ अर्ब ७२ करोड २३ लाख मूल्यका जुटका तयारी वस्तु निकासी भएको छ ।

अघिल्लो साउनमा यो नाकाबाट ६७ करोड ९३ लाख ३३ हजार मूल्यको तयारी जुट निकासी हुँदा चालु वर्षको साउनमा ४३ करोड ७० लाख ५९ हजार मूल्यको जुटका सामान निकासी भएको तथ्यांक छ । अघिल्लो साउनको तुलनामा गत साउनमा मात्र २४ करोड २३ लाखले निकासी घटेको देखिन्छ ।

भारतले नेपाली जुटका सामग्रीमा सात वर्षदेखि लगाउँदै आएको कम्तीमा दुई प्रतिशतदेखि ४ प्रतिशत सम्मको एन्टी डम्पिङ शुल्कले भारत र बंगलादेशका उत्पादनसँग मूल्य अन्तर छदैछ ।

नेपाल जुट उद्योग संघका अध्यक्ष राजकुमार गोल्छाले क्लिकमान्डुसँग भने, ‘एन्टी डम्पिङ शुल्क, विश्वव्यापी आर्थिक मन्दीसँगै बंगलादेश र भारतमा सस्तो श्रम लागतमा उत्पादन भएका वस्तुसँग मूल्य अन्तरका कारण नेपाली जुटका तयारी वस्तुले बजारमा प्रतिष्पर्धा गर्न नसक्दा निकासी प्रभावित बनेको हो।’

भारतीय बजारमा सस्तो श्रम लागतमा उत्पादन भएका बंगलादेशका जुटका तयारी वस्तु निर्वाध रुपमा निकासी हुन्छ । ति वस्तुमा भारतले एन्टी डम्पिङ शुल्क लगाएको छैन । भारतले आफ्नो उत्पादन स्वदेशमै खपत गराउन निकासीमा कडाइ गरेर आन्तरिक मूल्य समायोजन गरेको छ । गोल्छाले भने, ‘एन्टी डम्पिङका कारण बंगलादेश र भारतीय तयारी वस्तुको तुलनामा नेपाली वस्तुको मूल्य फरक परेकै कारण बजारमा नेपाली समानको माग घटेको छ ।’

नेपालमा भन्दा बंगलादेशमा पर टन उत्पानदमा १६ हजार रुपैयाँ लागत कम पर्ने गर्छ ।

भारतले लगाएको एन्टी डम्पिङ शुल्क नेपाली जुटी निकासीलाई प्रभाव पार्ने प्रमुख कारक छदैछ । सरकारले दिँदै आएको निकासी अनुदान पनि उद्योगले समयमा नपाउँदा निकसीमा थप प्रभाव परेको सम्बद्ध उद्योगीको गुनासो छ । सरकारले दुई वर्ष पहिला जुट उद्योगलाई विद्युतमा दिँदै आएको ७० प्रतिशत अनुदान कटौती गरेर निकासीमा ५ प्रतिशत नगद अनुदान दिने घोषणा गरेको थियो । उद्योगीले सरकारले घोषणा गरेको अनुदान गत वर्षको पाएका छैनन् ।

नेपाल र भारतका प्रधानमन्त्रीबीच नेपाली जुटका तयारी वस्तुमा भारतले सात वर्षदेखि एकपक्षीय रुपमा लगाउँदै आएको एन्टी डम्पिङ महशुल हटाउने विषयमा छलफल भए पनि नतिजा नआउँदा उद्योगी निराश छन् ।

तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहालले अघिल्लो जेठमा भारत भ्रमणका क्रममा समकक्षी नरेन्द्र मोदीसँग दिल्लीमा नेपाली जुटका तयारी वस्तुमा भारतले लिँदै आएको एन्टी डम्पिङ महशुल हटाउन आग्रह गरेका थिए ।

दाहालले त्यसबेला समकक्षी मोदीसँग जुटमा भारतले लिँदै आएको एन्टी डम्पिङ महशुल हटाउन आग्रह गरे पनि दुई मुलुकका सम्बद्ध मन्त्रालयका सचिव स्तरीय बैठकमा भारतीय पक्षले यस विषयमा अध्ययन गर्ने भन्दै अहिलेसम्म रेस्पोन्स नदिँदा परिणाम आउन सकेको छैन ।

गोल्छाकाअनुसार त्यसका लागि दुई मुलुकका सचिव स्तरीय बैठक अहिलेसम्म बसेको छैन ।

भारतले यसअघि नेपाली जुटका तयारी वस्तु निकासीमा साँढे बाह्र प्रतिशत काउन्टर भ्यालु डियूटी (सिभिडी) लगाएको थियो । त्यो सिभिडी हटाएर नेपाली जुटका तयारी वस्तु निकासीमा दुईदेखि साँढे चार प्रतिशतसम्म एन्टी डम्पिङ शूल्क लगाएको हो । एन्टी डम्पिङ शूल्कका नाममा नेपाली जुट उद्योगले वार्षिक सरदर ३० करोड भारतलाई तिर्दै आएका छन् । नेपालबाट हेसियन, सुतली, ब्याग लगायतका जुटका तयारी वस्तु भारत निकासी हुँदै आएको छ ।

सुनसरी मोरङ औद्योगिक क्षेत्रमा सबैभन्दा बढी मजदुरलाई रोजगारी दिने उद्योगमा जुट उद्योग पर्छन् । यि उद्योगमा अहिले १२ हजार मजदुरले रोजगारी पाएका छन् । ति उद्योगले आवश्यक पर्ने मध्ये ७० प्रतिशत कच्चा जुट भारत र बंगलादेशबाट आयात गरेर तयारी वस्तु भारत निकासी गर्दै आएका छन् ।


विनोद भण्डारी