पोखरा र भैरहवामा हवाई इन्धन किन्ने विदेशी वायुसेवालाई प्रतिलिटर १३ रूपैयाँ छुट, सस्तो होला भाडा ?



काठमाडौं । भैरहवा र पोखरास्थित अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान भर्ने जहाजले हवाइ इन्धनमा छुट पाउने भएका छन् । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले यी नयाँ विमानस्थलमा उडान गर्न चाहने विदेशी वायुसेवा कम्पनीलाई प्रति किलोलिटर एक सय अमेरिकी डलर छुटमा हवाई इन्धन उपलब्ध गराउने घोषणा गरेको हो ।

मन्त्रालयका प्रवक्ता चण्डीप्रसाद घिमिरेका अनुसार गत् साउन ३१ गते बसेको नेपाल आयल निगमको सञ्चालक समितिले ति दुवै विमान स्थल पूर्ण क्षमतामा सञ्चालनमा ल्याउने सरकारको नीति अनुसार अर्को व्यवस्था नहुञ्जेलसम्मका लागि उक्त विमानस्थलबाट उडान भर्ने जहाजलाई छुटमा एटीएफ उपलब्ध गराउने निर्णय गरेको थियो ।

सोही निर्णयअनुसार मन्त्रालयले यो सुविधा उपलब्ध गराउने घोषणा गरेको हो ।

सरकारको यो घोषणाअनुसार विमान कम्पनीहरुले अहिलेको मूल्यअनुसार प्रति किलोलिटरमा १०० अमेरिकी डलर ( अमेरिकी डलरको विनिमय दर १३४ रूपैयाँ मान्दा प्रतिलिटर १३ रूपैयाँ ४० पैसा) छुट पाउने भएका छन् । निगमको मूल्य सूची अनुसार अहिले हवाई इन्धन (अन्तर्राष्ट्रिय उडानका विमानले खपत गर्ने) को मूल्य प्रति किलोलिटर १ हजार ४ सय ४४ डलर छ ।

यो हिसाबले अहिले हवाई इन्धन (अन्तर्राष्ट्रियतर्फ) को मूल्य प्रतिलिटर १९३ रूपैयाँ पर्छ । सरकारको सुविधाअनुसार नयाँ अन्तर्राष्ट्रिय बिमानस्थलमा उडान गर्ने अन्तर्राष्ट्रिय एयरलाइन्स कम्पनीलाई प्रतिलिटर १८० रूपैयाँ हाराहारी पर्नेछ ।


क्लिकमान्डु