तराईको बाढीले महंगी बढायो



काठमाडौं । तराई मधेशमा आएको बाढीको कारण महंगी बढेको देखिएको छ ।

राष्ट्र बैंकले सार्वजनिक गरेको भदौ महिनासम्मको आर्थिक स्थितीको प्रतिवेदन अनुसार बाढीले गर्दा १ प्रतिशतले महंगी बढेको हो ।

राष्ट्र बैंकका अनुसार साउन महिनामा मुल्य बृद्धिदर २.३ प्रतिशत थियो । भदौ महिनामा त्यो बढेर ३.४ प्रतिशतमा पुगेको छ । अघिल्लो वर्षको तुलनामा भने मुल्यबृद्धि दरमा भने कमी नै छ । अघिल्लो वर्षको भदौमा मुल्यबृद्धिदर ७.९ प्रतिशतमा थियो ।

राष्ट्र बैंकका अनुसार बाढीले तरकारीमा मुल्य बढाएको देखिन्छ ।

खाद्यान्यमा भने मुल्य खासै नबढेको देखिन्छ । खाद्यान्यमा अघिल्लो वर्षको तुलनामा १.८ प्रतिशतले मुल्य बढेको छ ।

अघिल्लो वर्ष खाद्यान्यमा ७.७ प्रतिशतले मुल्यबृद्धि दर बढेको थियो । दाल र गेडागुडीको मुल्यमा कमी आएको हुँदा खाद्यान्यको मुल्यबृद्धिदर लगभग स्थिर रहेको हो ।

क्षेत्रगत आधारमा विश्लेषण गर्दा समीक्षा अवधिमा उपभोक्ता मुद्रास्फीति हिमालमा ५.४ प्रतिशत, तराईमा ३.८ प्रतिशत, पहाडमा ३.४ प्रतिशत र काठमाडौं उपत्यकामा २.८ प्रतिशत रहेको छ ।

अघिल्लो वर्षको सोही अवधिमा मूल्य वृद्धिदर हिमालमा ७.५ प्रतिशत, तराईमा ७.४ प्रतिशत, पहाडमा १०.३ प्रतिशत र काठमाडौं उपत्यकामा ६.६ प्रतिशत रहेको थियो ।


क्लिकमान्डु