बेलायती राजालाई फ्रान्समा ६ करोड ९० लाखको डिनर, महंगो रिसेप्सनले बजेट नै प्रभावित



एजेन्सी । बेलायती राजा चार्ल्स तेस्रोले फ्रान्स भ्रमणको क्रममा त्यहाँका राष्ट्रपति इम्यानुएल म्याक्रोंसँग गरेको डिनरको मूल्य ४ लाख ५० हजार युरो रहेको खुलासा भएको छ । फ्रान्सको लेखा परिक्षक कार्यालयका अनुसार गत सेप्टेम्बरको उक्त भव्य रिसेप्सनको खर्च ४ लाख ५० हजार युरो रहेको बताइएको छ ।

अर्थात् नेपाली रुपैयाँमा रुपान्तर गर्दा बेलायती राजा चार्ल्सको रात्रिभोजका लागि ६ करोड ८९ लाख ५३ हजार ५ सय १८ रुपैयाँ बराबरको खर्च गरिएको थियो ।

राजा चार्ल्सलाई म्याक्रोंले ब्लु लब्स्टर, क्राब र चिजको डिनरसहित आतिथ्यता गराएका थिए । यस्तै वार्षिक रिपोर्ट अनुसार म्यानुएलले यस्ता महंगा रिसेप्सनमा अत्यधिक खर्च गर्दा देशको बजेट नै खतरामा पुगेको भन्दै उनी आलोचित बनेका छन् । उक्त खर्चको वित्तीय भारलाई सन्तुलन मिलाउन अहिले पनि सरकारले महत्त्वपूर्ण प्रयास गर्नुपरेको बताइएको छ ।

उक्त रात्रिभोजमा १ लाख ६५ हजार युरोभन्दा धेरै खानपानमा खर्च गरिएको थियो । र ४० हजार युरो पेय पदार्थमा खर्च गरिएको थियो ।

रात्रिभोजमा अतिथिहरु अभिनेता ह्यु ग्रान्ट, फुटबल प्रबन्धक आर्सेन वेङगर र रोलिङ स्टोन मिक जेगर पनि सहभागी थिए । जसलाई ब्लु लबस्टरको मेन्यु र जलचर लगायतका परिकारपछि चिकेन र च्याउको परिकार खुवाइएको थियो ।

साथै भोजमा फ्रेन्च र बेलायती चिजका विभिन्न परिकार पनि राखिएको थियो । डेजर्टको रुपमा रोज म्याकरोन कुकी, रोज पेटल क्रिम, रस्पबरी र लिचीहरु उपलब्ध थियो । फ्रान्समा बेलायती राजा चार्ल्सको तीन दिने राजकीय भ्रमणको क्रममा उक्त भव्य भोज आयोजना गरिएको थियो । उक्त भ्रमण दुई देशबीचको सम्बन्ध झन प्रगाढ बनाउने उद्देश्यले गरिएको बताइएको थियो ।

यद्यपि उक्त भ्रमण मार्चमा गर्ने तय गरिएको थियो । तर पेन्सन तथा भत्ताको विषयलाई लिएर फ्रान्सका मुख्य सहरहरुमा विशाल आन्दोलन भइरहेकाले उक्त तालिका अप्रिलका लागि सारिएको थियो । त्यसो त यति महंगो भोज गरिएको चार्ल्सको भ्रमणमा मात्रै हैन ।

त्यसपछि २०२३ को जुलाइमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको आतिथ्यता पनि फ्रान्सका लागि महंगो सावित भयो । जुन भ्रमणको क्रममा फ्रान्सको राष्ट्रपति कार्यालयले ४ लाख १२ हजार युरो खर्च गरेको थियो । फ्रान्सको लेखापरिक्षकको कार्यालयका अनुसार यस्ता महंगा रिसेप्सन पार्टीमा अत्यधिक खर्चका कारण गत वर्षको तुलनामा १४ प्रतिशत खर्च बढेको छ ।


क्लिकमान्डु