अमेरिकामा आम्दानीको नयाँ तरिका: घरको छत, गार्डेनदेखि लिभिङ रुमसम्म भाडामा



अमेरिकामा नयाँ घर खरिद गर्न महंगो र कठिन भइरहँदा घरको निजी पुल, गार्डेन, जिम हल, छत जस्ता संरचनाहरु छोटो अवधिका लागि भाडामा लिने-दिने प्रचलन बढ्दो छ । मानिसहरु बेबीसावरदेखि फोटोसुटका लागि पनि केही घण्टाका लागि निजी घर भाडामा लिने गर्छन् ।

एजेन्सी । अमेरिकी सेलिब्रेटी एलिक्सिस हेम्मोन्डले पियरस्पेसलाई केही घण्टाका लागि घर भाडामा दिइन् । विभिन्न इभेन्ट तथा कार्यक्रमका लागि हल तथा भेन्यु भाडामा लिने कम्पनी पियरस्पेसले भने त्यहाँ छोटो समयका लागि फिल्म क्र्यु ल्याएर वावा कमर्सियलको विज्ञापन सुट गरायो ।

अमेरिकामा घर भाडामा लिनु वा दिनु नौलो त होइन । तर यसरी केही इभेन्ट वा छोटो कार्यक्रमका लागि केही घण्टाका लागि नै घर भाडामा दिने प्रचलन बढिरहेको छ । हेम्मोन्डका अनुसार उनको घरमा बाल्टीमोर रेभेन्सका फुटबल खेलाडीले सुटिङ गरेका थिए ।

‘घरमा बाल्टीमोर रेभेन्सका फुटबल खेलाडी थिए । यसैले मेरा लागि यो उत्साहजनक क्षण थियो,’ हाम्मोन्डले भनिन् । त्यसो त, मनोचिकित्सक समेत रहेकी हेम्मोन्ड भाडावापत पाएको रकमबाट घरको एक महिनाको बैंक भुक्तानी राम्ररी तिर्न सफल भइन् ।

त्यसपछि त हेम्मोन्डले फोटोसुटदेखि लिएर बेबी सावरसम्म हरेक इभेन्टका लागि पियरस्पेसमा आफ्नो घर भाडामा दिन थालेकी छन् । जसको भाडादर कम्तीमा प्रतिघण्टा १ सय डलरदेखि सुरु हुन्छ ।

अधिकांश अमेरिकीहरुका लागि सहरमा घर खरिद गर्नु आफैंमा खर्चिलो र कठिन काम मानिन्छ । तर यसरी छोटो अवधिका लागि वा इभेन्टका घर भाडामा लगाएर आम्दानी गर्ने तरिका उपयुक्त मानिएको छ ।

पछिल्ला वर्षहरुमा अमेरिकामा घर मालिकहरुले आफ्नो घरका संरचनाहरु जस्तै पुल, गार्डेन, लिभिङ रुम, छत लगायतलाई पनि पुँजीकृत गर्न थालेका छन् । अर्थात् नयाँ घर खरिद गर्न खर्चिलो र कठिन हुँदा यस्ता संरचनाहरुलाई पनि अमेरिकीहरुले आम्दानीको स्रोतको रुपमा उपयोग गर्न थालेका छन् । यसरी घरका गार्डेन, पुल वा छत जस्ता संरचनालाई विकेन्ड, बेबी सावर वा मिटिङ जस्ता इभेन्टका लागि भाडामा प्रयोग गर्ने चलन बढेको छ ।

‘यो एक किसिमले (प्यासिभ इन्कम) दुख नगरिकन हुने आम्दानी हो । तर यसका लागि तपाइँले घरलाई सधैँ सरसफाइ पनि गरिरहनु पर्छ,’ हेम्मोन्ड भन्छिन् ।

भाडाबाट आम्दानी

परम्परागत रुपमा नाइट स्टेका लागि भाडामा उपयोग गराउने काममा एयरबन्ब र भीर्बो जस्ता अनलाइन मार्केटप्लेस कम्पनीहरु अमेरिकामा केही वर्षदेखि नै लोकप्रिय छन् ।

तर पछिल्लो समय घरमालिकहरुबाट घरको केही भाग वा संरचना भाडामा दिने प्रचलन बढेको छ । यससँगै केही घण्टा वा दिनका लागि खास इभेन्ट आयोजना गर्न पनि घर वा यसका आवश्यक संरचना भाडामा दिने प्रचलन बढेको हो ।

यसरी घर भाडामा मिलाउने स्विम्पली एउटा अनलाइन प्लेटफर्म हो । जसले घरका निजी पुलहरुलाई भाडामा उपयोग गराउँछ । २०२० मा सुरु भएको यो अनलाइन प्लेटफर्मको काम कोरोना महामारीका कारण त्यस अवधिमा भने रोकिएको थियो ।

माइकेल कुकुक हस्टनस्थित एक तेल तथा ग्यास कम्पनीका मालिक हुन् । उनले पनि आफ्नो घरको पुललाई प्रतिघण्टा ६० डलर र विकेन्डमा भने ६७ डलरको दरमा अनलाइन प्लेटफर्ममा राखेका छन् ।

र समर सिजनमा एक विकेन्डमै चारदेखि पाँचवटा फरक बुकिङको अर्डर आउने गरेको उनी बताउँछन् । कुकुकका अनुसार उनले यही समरमा मात्रै पुल भाडामा लगाएर १३ हजार डलर कमाइसके । र २०२२ चाहिँ उनका लागि आम्दानीका हिसावले सबैभन्दा राम्रो वर्ष सावित भयो । त्यस वर्ष उनले २६ हजार डलर कमाएका थिए ।

कुकुक घरमा पहिलेदेखि नै पुल बनाउन मन पराउँथे तर यसको नियमित प्रयोग भने भइरहेको थिएन । तर पछिल्लो समय भाडामा लगाएर जस्तो आम्दानी गरेका छन् यसले उनलाई निकै खु्सी बनाएको छ ।

स्विम्प्लीले हालै एक पासको लन्च गरेको छ । जसअन्तर्गत यस कम्पनीले घरमालिकहरुलाई उनीहरुको पुल, टेनिस कोर्ट वा जिम हल पनि भाडाका लागि बुक गराउने जनाएको छ । स्विम्प्लीको यस्तो योजनाले कुनै पनि आम अमेरिकी नागरिकले बनाएको घर बासस्थानको लागि मात्रै नभएर त्यो एक व्यावसायिक प्रयोजनका लागि पनि उपयोग हुने भएको छ ।

स्विम्प्लीका सीईओले भने आफूहरुले लागतको भरपाइ गराउन र आम्दानी सिर्जना गर्नमा सहयोग गरिरहेको बताएका छन् । पियरस्पेस र स्विम्प्ली दुई कम्पनी मात्रै हैन । अमेरिकामा पछिल्लो समय यस्ता थुप्रै अनलाइन मार्केटप्लेसहरुले आम नागरिकहरुका घरलाई छोटो अवधिका लागि वा इभेन्टका लागि भाडामा प्रयोग गराउँदै आएका छन् ।


क्लिकमान्डु