४० वर्षमा नबिल बैंकले बुझायो २२ अर्ब आयकर, ७ पटक ‘नम्बर वान’



काठमाडौं । स्थापनाको ४० वर्षमा नबिल बैंकले २२ अर्ब रुपैयाँभन्दा बढी आयकर तिरेको छ । वि.सं. २०४१ सालमा विदेशी लगानीमा निजी क्षेत्रतर्फको पहिलो बैंकको रुपमा स्थापित नबिलले सरकारलाई २२ अर्ब ६१ करोड ६६ लाख रुपैयाँ आयकर तिरेको हो ।

कानुनी प्रबन्धअनुसार बैंक तथा वित्तीय संस्थाले मुनाफाको ३० प्रतिशत आयकर तिर्नुपर्छ । सोही प्रावधानअनुसार बैंक हालसम्म ७ पल्ट सबैभन्दा बढी आयकर तिर्ने बैंकसमेत बनेको छ ।

नबिलले आर्थिक वर्ष २०७२/७३ देखि हरेक वर्ष अर्ब रुपैयाँभन्दा बढी आयकर तिर्दै आएको छ । आर्थिक वर्ष २०७९/८० मा बैंकले एकै आवमा हालसम्मकै सर्वाधिक २ अर्ब ८० करोड रुपैयाँ आयकर तिरेको थियो ।

बैंकले आव २०७२/७३ मा १ अर्ब २० करोड रुपैयाँ आयकर तिरेको बैंकले आव २०७३/७४ मा १ अर्ब ५४ करोड, आव २०७४/७५ मा १ अर्ब ६८ करोड, आव २०७५/७६ मा १ अर्ब ८१ करोड, आव २०७६/७७ मा १ अर्ब ५५ करोेड, आव २०७७/७८ मा २ अर्ब २५ करोड र आव २०७८/७९ मा १ अर्ब ९४ करोड रुपैयाँ बराबर आयकर तिरेको थियो ।

स्थापनाकालयता बैंकले २ आर्थिक वर्ष आयकर तिरेको छैन । आव २०४२/४३ मा २० लाख रुपैयाँ आयकर तिरेको बैंकले त्यसयता निरन्तर व्यवसाय र नाफा वृद्धि गर्दै आएको छ । आव २०५२/५३ देखि बैंकले १० करोडभन्दा बढी आयकर तिर्न थालेको थियो ।

हालसम्मकै आयकरको योगफल निकाल्ने हो भने सम्भवतः सरकारलाई बढी आयकर तिर्ने बैंक पनि नबिल बैंक नै हो ।

किनकी बैंक ७ पल्ट त सर्वाधिक आयकर तिर्ने बैंक बनिसकेको छ । सरकारले सर्वाधिक कर तिर्नेहरुलाई सम्मान गर्न थालेयता सबैभन्दा बढीपटक सर्वाधिक आयकर तिर्ने बैंकको रुपमा सम्मानित हुने बैंक नबिल नै हो ।

बैंकले आव २०६७/६८, आव २०७१/७२, आव २०७३/७४, आव २०७५/७६, आव २०७६/७७, आव २०७७/७८ र आव २०७८/७९ मा सर्वोत्कृष्ट करदाता बैंकको सम्मान पाइसकेको छ ।

सबैभन्दा बढी आयकर तिर्ने बैंक बनेका आर्थिक वर्षहरु
-आव २०६७/६८
-आव २०७१/७२
-आव २०७३/७४
-आव २०७५/७६
-आव २०७६/७७
-आव २०७७/७८
-आव २०७८/७९

आव २०६७/६८ मा बैंकले ५६ करोड ८५ लाख रुपैयाँ आयकर योगदान गरेको थियो भने आव २०७१/७२ मा बैंकले ८९ करोड ६९ लाख रुपैयाँ आयकर बुझाएको थियो ।

उल्लेखित आयकरमा बैंकले रोजगारी सिर्जना गरी कर्मचारीको आयमा बुझाएको कर समावेश छैन ।

यसरी सरकारलाई तिर्ने करका आधारमा नम्बर वान बनेको नबिल शुक्रबारदेखि ४० औं वर्षमा प्रवेश गर्दैछ ।

नेपाल अरब बैंक इन्टरनेसनल लिमिटेड (नबिल) का नाामा २०४१ असार तदनुसार १२ जुलाइ १९८४ मा स्थापना भएको नबिल बैंक आक्रमक व्यवसाय विस्तार, डिजिटाइजेनसमा अब्बल र लगानीकर्तालाई उच्चतम प्रतिफल दिने बैंकका रुपमा परिचित छ।

नबिल हाल नेपालको प्रतिष्ठित व्यवसायी घराना चौधरी ग्रुपद्वारा प्रवद्र्धित छ । देशका बैंक तथा वित्तीय संस्थाको सूचीमा सर्वोउत्कृट बैंक भने पनि चिनिन्छ नबिल ।

हाल नबिल बैंकको चुक्ता पुँजी २७ अर्ब ५ करोड ७० लाख रुपैयाँभन्दा रहेको छ भने कुल पुँजी ५६ अर्ब ३८ करोड ४६ लाख रुपैयाँ रहेको छ ।

गत चैत मसान्तसम्मको तथ्यअनुसार बैंकले ग्राहकबाट ४ खर्ब ४० अर्ब ४३ करोड ६४ लाख रुपैयाँ निक्षेप परिचालन गरी ३ खर्ब ६८ अर्ब ७५ करोड ६६ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ ।

चालु आर्थिक वर्षको ९ महिना सकिँदासम्म बैंकले ४ अर्ब ६६ करोड ८० लाख रुपैयाँ खुद मुनाफा आर्जन गरिसकेको छ ।

बैंकको प्रतिसेयर आम्दानी २३ रुपैयाँ २४ पैसा रहेको छ । चैत मसान्तको विवरणअनुसार बैंकको कुल कर्जामा कुल निष्क्रिय कर्जाको अनुपात ४.०४ प्रतिशत र खुद निष्क्रिय कर्जाको अनुपात १.२७ प्रतिशत रहेको छ ।

यस अवधिमा बैंकको प्रतिसेयर नेटवर्थ २ सय ८ रुपैयाँ ३९ पैसा रहेको छ । २०८० चैत मसान्तको कारोबार मूल्यका आधारमा दोस्रो बजारमा प्राइन अर्निङ (पीई) रेसियो १८.८५ रहेको छ ।

नबिल बैंक देशले उदारीकरणको नीति अबलम्बन गरेपछि विदेशी लगानीमा खुलेको पहिलो संस्था हो । तसर्थ नबिललाई उदारीकरणको प्रमाणका रुपमा पनि लिइन्छ ।

यस्तो छ नबिलको ४० वर्षे यात्रा

४० वर्ष अघि पहिलो ज्वाइन्ट भेन्चर र कम्प्युटराइज्ड बैंकको रुपमा स्थापना भएपछि बैंकले डिजिटलाइजेसनमा शख्त उदाहरण बनेर पेश भएको छ । बैंकले स्थापनाको ५ वर्ष मै एनएबीएसवाईएस बैंकिङ सफ्टवेयरमा आधारित सेवा सुरु गरेको थियो । सन् १९९० मा मास्टरकार्डको म्यानुअल इम्प्रिन्टर (जिप–ज्याप) मेसिन सुरु गर्ने बैंक पनि नबिल नै हो ।

त्यसता बैंकले सन् १९९२ मा मास्टर कार्ड क्रेडिड कार्डको सुरुवात गरेको थियो । लगत्तै अर्को वर्ष बैंकले भिसा कार्ड सुरुवात गर्‍यो । बैंकले सन् १९९५ देखि नै एमटीएम प्रयोगमा ल्याएको छ । सन् १९९७ मा बैंकले पीओएस मेसिन र भिसा क्रेडिड कार्ड जारी गरेको थियो ।

सन् १९९८ मा स्विफ्ट सेवा सुरु गरेको बैंकले सन् २००३ मा फिनाकल कोर बैंकिङ, इन्टरनेट बैंकिङ र एबीबीएस सेवा सुरु गरेको थियो ।

सन् २००५ मा बैंकले भिसा डेभिड कार्ड (इलेक्ट्रोन) जारी गर्‍यो ।

नबिलले सन् २०११ मै अनलाइन खाता खोल्ने प्रणली ल्याएको थियो । यसक्रममा नबिल एटीएम र पीओएसबाट यूनियन पे अन्तर्राष्ट्रिय सेवा प्रदान गर्ने पहिलो बैंक बनेको छ ।

प्रविधिसँगै फड्को मार्ने क्रममा नबिल सन् २०१२ मा थ्रीडी (सुरक्षित इ–कमर्स) लागू गर्ने पहिलो बैंक बन्यो । बैंकले सन् २०१३ देखि नै मोबाइल एपको प्रयोग गर्दै आएको छ । मोबाइलबाट बैंकिङ सुविधा दिने पहिलो बैंक नबिल नै हो । सन् २०१४ मा बैंकबाट जारी सम्पूर्ण कार्ड प्रतिस्थापन गरेर ईएमभी कार्ड जारी भएको थियो । मास्टर कार्ड र डेबिट कार्डमा चिप जडान त्यसबखत भएको हो ।

सन् २०१५ मा अनलाइन कर्पोरेट भुक्तानी सेवाको सुरुवात भयो । सन् २०१७ मा इ–कमर्श प्राप्ति (भुक्तानी गेटवे) र नबिल भाइबर बैंकिङको शुभारम्भ गरियो ।

सन् २०१८ मा एनएफसी कन्ट्याक्टलेस कार्ड जारी गर्ने र युनियन पे इन्टरनेशनल क्यूआर सेवा प्रदान गर्ने पहिलो बैंक बन्न नबिल सफल भयो । सन् २०१९ मा फेसबुक प्लेटफर्मबाट च्याटबोट ‘नबिना’ को शुभारम्भ, चौबिसै घण्टा, सातै दिन ग्राहक सेवा केन्द्र सुरु भयो । एनएफसी कन्ट्याक्टलेस पीओएस मेसिन प्रयोगमा ल्याइयो ।

सन् २०२० मा बैंकको ३६ औं वार्षिकोत्सवको अवसरमा ‘नबिल डीजीबैंक’ स्थापनाको घोषणा, फोनबाट कर्जा स्वीकृत गर्ने पहिलो बैंक बन्यो, शाखा काउन्टरहरूमा क्यूआर मार्फत् ‘स्क्यान एन्ड विथड्र’ तथा ग्रिन पिन प्रयोगमा ल्याइयो ।

बैंकले सन् २०२१ मा ६ वटा नयाँ सेवाहरू सुरुवात गर्यो । जस अन्तर्गत नबिल स्मार्ट बैंक एममा कार्डहरू एकीकृत गर्ने पहिलो बैंक बन्न सफल भयो । नबिल नगद मेसिन (एनसीएम) प्रयोगमा ल्याइयो । कोर बैंकिङ प्रणाली फिनाकललाई १०.२५ मा स्तरोन्नति गरियो ।

सन् २०२२ मा एन बैंकको सुरुवात गरेर नबिलले नेपालमै पहिलो पल्ट नियो बैंकिङ सुरुवात पनि गरिसकेको छ ।


क्लिकमान्डु