११ वटा सूचकमा नबिल बैंक ‘नम्बर वान’, कुन सूचक कस्ता ?



काठमाडौं । लामो समयदेखि शीर्ष स्थानमा रहेको नबिल बैंक यस वर्ष पनि आफ्नो नम्बर वानको ताज राख्न सफल भएको छ ।
अर्बपति व्यवसायी विनोद चौधरीको प्रमुख लगानी रहेको नबिल बैंक अधिकांश सूचकमा अन्य वाणिज्य बैंकहरुको तुलनामा अग्रस्थानमा देखिएको छ ।

आर्थिक वर्ष २०७७/७८ को वित्तीय विवरणअनुसार नबिल बैंक सबैभन्दा अगाडि देखिएको छ । सेयर लगानीकर्तालाई लाभांशदेखि खुद आम्दानीलगायतका करिब एक दर्जन सूचकले नबिल बैंकलाई शीर्ष स्थानको ताज पहिराइदिएको छ ।

चुक्ता पुँजी १३ अर्ब ८४ करोड ४४ लाख ५१ हजार १५६ रुपैयाँ रहेको बैंकको प्रतिसेयर नेटवर्थमा नेटवर्थ २४०.७३ रुपैयाँ छ । बैंकमा कुल १ हजार २५८ जना कर्मचारी छन् भने कुल शाखा १३५ वटा छन् ।

कुन कुन सूचकमा पहिलो ?

१) खुद नाफाः लामो समयदेखि नम्बर वान बैंकका रुपमा परिचित नबिल बैंकले गत आवमा खुद नाफा कमाउने वाणिज्य बैंकहरुको तुलनामा सबैभन्दा अगाडि देखिएको छ । बैंकको वित्तीय विवरणअनुसार बैंकले गत आवमा मात्रै खुद नाफा ४ अर्ब ५० करोड ४४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । जुन अन्य वाणिज्य बैंकको तुलनामा सबैभन्दा बढी हो ।

२) प्रतिसेयर आम्दानी: इपीएस अर्थात् अर्निङ पर सेयरमा पनि नबिल बैंक शीर्ष स्थानमा देखिएको छ । अन्य वाणिज्य बैंकको तुलनामा इपीएसमा पनि नबिल बैंक शीर्ष स्थानमा छ । वित्तीय विवरण अनुसार बैंकको इपीएस ३३.४० रुपैयाँ रहेको छ । कुनै पनि कम्पनीले आर्जन गरेको खुद नाफालाई कम्पनीको कुल सेयर संख्याले भाग गर्दा प्रतिसेयर आम्दानी प्राप्त हुन्छ । यो सेयर मूल्य मापन गर्ने एक महत्वपूर्ण आधार हो । प्रतिसेयर आम्दानी बढी भएकोलाई असल मानिन्छ भने कम भएकालाई कमसल मानिन्छ । सामान्यतयाः इपीएस २० रुपैयाँभन्दा माथि भएका कम्पनीको सेयरलाई जोखिममुक्त मानिन्छ ।

३) रिजर्भः रिजर्भका हिसाबले पनि नबिल बैंक अन्य वाणिज्य बैंकको तुलनामा सबैभन्दा अगाडि छ । नबिल बैंकको पछिल्लो वित्तीय विवरणअनुसार रिजर्भ १९ अर्ब ४८ करोड ३७ लाख रुपैयाँ छ ।

४) बजार पुँजीकरणः हाल नेप्सेमा सूचिकृत २ सयभन्दा बढी कम्पनीहरुमध्ये बजार पुँजीकरणका हिसाबले नबिल बैंक सबैभन्दा अगाडि छ । वाणिज्य बैंकहरुमध्ये सबैभन्दा धेरै सेयर मूल्य रहेको नबिल बैंकको बजार पुँजीकरण २ खर्बभन्दा माथि छ । बैंकको बजार पुँजीकरण २ खर्ब ८ करोड रुपैयाँ बराबरको छ । यो सूचिकृत कम्पनीहरुको तुलनामा सबैभन्दा धेरै हो । हाल २ खर्बभन्दा बढी बजार पुँजीकरण भएको नबिल बैंक एउटा मात्रै कम्पनी हो ।

५) प्रतिसेयर वितरणयोग्य नाफाः लगानीकर्ताका लागि कुनै पनि कम्पनीले दिने प्रतिफल महत्वपूर्ण हुन्छ । लगानीकर्ताले आफूले गरेको लगानीवापत राम्रो प्रतिफल पाउने आशा राखेका हुन्छन् । जसमा वाणिज्य बैंकहरुमा सबैभन्दा अगाडि नबिल बैंक देखिएको छ । बैंकले प्रकाशित गरेको वित्तीय विवरण अनुसार बैंकको वितरणयोग्य नाफा प्रतिसेयर ३१.०८ रुपैयाँ छ ।

६) प्रतिशाखा निक्षेपः नबिल बैंकले गत आवमा कुल निक्षेप संकलन२ खर्ब २७ अर्ब ९८ करोड रुपैयाँ रहेको छ । जसमा प्रतिशाखा निक्षेपका आधारमा अन्य वाणिज्य बैंकको तुलनामा शीर्ष स्थानमा छ । बैंकको प्रतिशाखा निक्षेप संकलन औसतमा १ अर्ब ६८ करोड ८७ लाख रुपैयाँ रहेको छ ।

७) प्रतिशाखा कर्जाः शाखाअनुसार निक्षेप संकलनमा मात्रै नभइ प्रतिशाखा कर्जा प्रवाहमा समेत नबिल बैंक शीर्ष स्थानमा छ । बैंकले गत आवमा कुल २ खर्ब ६ अर्ब ७० करोड रुपैयाँ कर्जा प्रवाह गरेकोमा प्रतिशाखा कर्जा प्रवाह १ अर्ब ५३ करोड ११ लाख रुपैयाँ छ । जुन अन्य वाणिज्य बैंकको तुलनामा सबैभन्दा बढी हो ।

८) प्रतिकर्मचारी निक्षेपः नबिल बैंकले कर्मचारीहरुको निक्षेप संकलनमा पनि सबैभन्दा अगाडि देखिएको छ । बैंकले प्रकाशित गरेको वित्तीय विवरण अनुसार कर्मचारीहरुबाट प्राप्त निक्षेप रकम १८ करोड १२ लाख रुपैयाँभन्दा बढी छ ।

९) सेयर मूल्यः लगानीकर्ताका हिसाबले पनि अन्य वाणिज्य बैंकहरुको तुलनामा नबिल बैंक शीर्ष स्थानमा छ । हाल सञ्चालित २७ वटा वाणिज्य बैंकमध्ये प्रतिसेयर १ हजार रुपैयाँभन्दा बढी सेयर मूल्य भएको नबिल बैंक एउटा मात्रै कम्पनी हो । सोमबार कारोबार बन्द हुँदासम्म नबिल बैंकको सेयर मूल्य प्रतिकित्ता १५०५ रुपैयाँ छ ।

१०) प्रतिकर्मचारी कर्जा प्रवाहः प्रतिकर्मचारी कर्जा प्रवाहका आधारमा पनि नविल बैंक शीर्ष स्थानमा छ । बैंकका एक कर्मचारीले औसतमा १६ करोड ४३ लाख १५ हजार रुपैयाँ कर्जा प्रवाह गरेका छन् ।

११) प्रतिकर्मचारी नाफा: नबिल बैंक प्रतिकर्मचारी नाफामा पनि सबैभन्दा अगाडि देखिएको छ । अन्य वाणिज्य बैंकको तुलनामा सबैभन्दा अगाडि रहेको नविल बैंकको प्रतिकर्मचारी नाफा ३५ लाख ८० हजार रुपैयाँभन्दा बढी रहेको देखिएको छ ।


पुष्प दुलाल