अम्बानी परिवारको बिहेमा जस्टिन बिबर भारत आउँदै, एउटै प्रस्तुतीको १ करोड डलर पारिश्रमिक



एजेन्सी । भारतीय उद्यमी तथा भारतका सर्वाधिक धनी मुकेश अम्बानीले आफ्नो छोराको विवाह समारोहमा करोडौं डलर खर्च गरेर हलिउडका विश्वचर्चित सेलिब्रिटीहरुलाई बोलाएका छन् ।

अम्बानीका कान्छा छोरा अनन्तको विवाह समारोहमा विश्वप्रसिद्ध पपस्टार सेलिब्रिटी जस्टिन बिबरले प्रि वेडिङ गिग (सांगीतिक प्रस्तुती) दिने भएका छन्। यसका लागि जस्टिन आगामी साता भारत आउने तयारीमा छन् ।

जस्टिन बिबरले हालै आफ्नो इन्स्टामा फोटो र भिडियो पोस्ट गर्दै अम्बानी परिवारको निम्तोमा आफू जाने कुरा सार्वजनिक गरेका छन् । गत मार्चमा अम्बानी परिवारले गरेको प्रि वेडिङ पार्टीमा आएर रिहानाले भव्य कन्सर्ट गरेकी थिइन् । जहाँ म्याजिसियन डेभिड ब्लेन, एकन र धेरै बलिउड कलाकारहरूले पनि प्रदर्शन गर्ने कार्यक्रम थियो ।

मे महिनामा अम्बानी परिवारको दोस्रो प्रि वेडिङ इभेन्टको क्रममा इटालीस्थित क्रुजमा डेभिड गुएटा, द ब्याकस्ट्रीट बोइज, केटी पेरी, एन्ड्रिया बोसेली र पिटबुलले प्रस्तुती दिएका थिए । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुका अनुसार अम्बानीले जस्टिन बिबरलाई गिगका लागि १ करोड अमेरिकी डलर (१ अर्ब ३२ अर्ब नेपाली रुपैयाँभन्दा धेरै) र रिहानालाई ७० लाख अमेरिकी डलर तिरेका छन् । तर स्थानीय मिडियाले भने रिहानाको टिमलाई ९० लाख डलर तिरेको दाबी गरेका छन् ।

जवकि यी कलाकारहरुले व्यक्तिगत रुपमा यस्ता निम्तो आउँदा अत्यधिक महंगो शुल्क लिने गरेका छन् । अम्बानी परिवारले कन्सर्टबारे विस्तृतमा तालिका सार्वजनिक नगरे पनि अडेलेले आगामी शुक्रबार प्रस्तुती दिनेबारे अन्तर्राष्ट्रिय मिडियाले समाचार लेखेका छन् ।

भारतको रिलायन्स इन्डस्ट्रिजका अध्यक्ष एवं एसियाकै सर्वाधिक धनी उद्यमी मुकेश अम्बानीले आफ्नो कान्छो छोरा अनन्तको विवाह भारतीय फर्मास्युटिकल टाइकुन विरेन मर्चेन्टकी छोरी राधिकासँग आगामी साता विवाह गराउँदै छन् । उक्त विवाह समारोहमा नेपालका उद्यमी तथा फोर्ब्सको अर्बपति सूचीमा रहेका विनोद चौधरीलाई पनि निम्तो आएको छ । चौधरीले अनन्त र राधिकाको वैवाहिक जीवनको शुभकामना दिँदै उक्त विवाहमा आफू र छोरा वरुण सहभागी हुने भन्दै फेसबुकमा लेखेका छन् ।

गत मार्च महिनामा प्रि वेडिङ समारोहमा बिल गेट्स र मार्क जुकर्बर्ग, कार्ली क्लोस, इभान्का ट्रम्पसहित विश्वप्रसिद्ध अर्बपतिहरु सहभागी भएका थिए ।

फोर्ब्सका अनुसार भारतसँगै एसियाकै सर्वाधिक धनी उद्यमी मुकेश अम्बानीको पछिल्लो पटक १२ अर्ब ४० करोड अमेरिकी डलरको कुल सम्पत्ति छ । यससँगै उनी विश्वको सर्वाधिक धनीहरुको फोर्ब्स सूचीमा ११ औं नम्बरमा छन् । उनको कम्पनी रिलायन्सले ऊर्जा, टेलिकम र रिटेल लगायतका उद्योगमा काम गर्दै आएको छ ।

अम्बानीले भाडामा बोलाएका पप स्टारहरुमध्ये रिहाना पनि फोर्ब्सको अर्बपति सूचीमा पर्ने प्रसिद्ध कलाकार हुन् । जसको कुल सम्पत्ति १ अर्ब ४० करोड अमेरिकी डलर छ । अम्बानी परिवारले अनन्तको विवाहका लागि २०२३ को जनवरीमा नै परम्परागत रुपमा इंगेजमेन्ट गराएको थियो । अम्बानीकी छोरी इशाको भने २०१८ मा विवाह भएको थियो । त्यसबेला प्रिवेडिङ समारोहमा पपस्टार बियोन्सेले सांगीतिक प्रस्तुती दिएकी थिइन् ।


क्लिकमान्डु