अर्बपति वारेन बफेटको मृत्युपछि बिल गेट्स फाउन्डेसनले पैसा नपाउने



अमेरिकी अर्बपति वारेन बफेटले मरणोपरान्त बिल गेट्स फाउन्डेसनलाई दिने भनेको सम्पत्ति अब आफ्नै सन्तानहरुको परोपकारी संस्थालाई दिने घोषणा गरेका छन् ।

एजेन्सी । बर्कशायर ह्याथवेका मालिक तथा अर्बपति वारेन बफेटले आफ्नो निधनपछि आफ्नो सम्पत्तिको विषयमा योजना परिवर्तन गरेका छन् । उनले आफ्नो सम्पत्तिलाई मरोपरान्त आफ्ना तीन सन्तानले चलाएको नयाँ परोपकारी कोषमा लगाउने घोषणा गरेका छन् ।

यसअघि बिल र मेलिन्डा गेट्स फाउन्डेसनलाई चन्दा दिने भन्दै घोषणा गरेको योजना उनले रद्ध गरेका छन् । ९३ वर्षीय बफेटले भनेका छन्, ‘अब मेरो निधनपछि गेट्स फाउन्डेसनले कुनै पनि पैसा पाउने छैन ।’ बफेटले आफ्नो मरणोपरान्त सम्पत्तिको विषयलाई लिएर यसअघि पनि पटक पटक योजना परिमार्जन गर्दै आएका छन् । यसपटक उनले आफ्ना सन्तानहरुप्रति आफ्नो विरासत व्यवस्थापन गर्ने विश्वास गर्दै नयाँ घोषणा गरेका हुन् । उनका सबै सन्ताहरुले हाल परोपकारी संस्था सञ्चालन गर्दै आएका छन् ।

‘म आफ्ना सन्ताहरु र उनीहरुको मूल्यमान्यताप्रति पूर्ण रुपमा विश्वास गर्छु,’ बफेटले भनेका छन् । बफेटले यसअघि गेट्स फाउन्डेसन र चार परिवार सम्बन्धी परोपकारी संस्थाहरूलाई समर्थन गर्न आफ्नो सम्पत्तिको ९९ प्रतिशतभन्दा बढी हिस्सा दिने घोषणा गरेका थिए । ती संस्थामा सुसन थम्सन बफेट फाउन्डेसन, शेरवुड फाउन्डेसन, होवर्ड जी बफेट फाउन्डेसन र नोभो पाउन्डेसनलाई मरणोपरान्त आफ्नो सम्पत्ति दिने घोषणा गरेका थिए ।

तर हाल उनले आफ्नो जीवनकालभर गेट्स फाउन्डेसनलाई दान दिने क्रम भने जारी राख्ने छन् । शुक्रबार बर्कशायर ह्याथवेले बफेटले ९००० क्लास ए शेयरलाई १३ मिलियन डलरभन्दा बढी क्लास बी शेयरहरुमा परिवर्तन गरेको घोषणा गरेको हो । जसमा ९.३ मिलियन शेयर गेट्स पाउन्डेसन ट्रस्टकोलाई र बाँकी पारिवारिक च्यारिटीलाई दिने बताइएको हो ।

वारेन बफेटले १८ वर्षभन्दा पहिलेदेखि गेट्स फाउन्डेसनलाई सहयोग गर्दै आएका छन् । गेट्स फाउन्डेसनका सीईओ मार्क सुजम्यानले भने बफेटको करिब ४३ अर्ब डलरको योगदानप्रति आभार तथा कृतज्ञता प्रकट गरेका छन् ।

गत वर्ष बफेटले परिवार सम्बन्धी परोपकारी संस्थाहरुलाई लगभग ८७ करोड अमेरिकी डलर र २०२२ मा लगभग ७५ करोड डलर दान गरेका थिए । थुप्रै अनुदानका बावजुद बफेटले बर्कशायर ह्याथवेमा २ लाख ७ हजारभन्दा बढीको क्लास ए शेयर र २ हजार ५ सयभन्दा बढीको बी क्लास शेयर हिस्सा लिएका छन् । जसको मूल्य १ खर्ब २८ अर्ब बराबरको मानिन्छ ।

फोर्ब्स म्यागजिनको बिलिनियरहरुको सूचीको १०औं धनीमा पर्ने अमेरिकन उद्यमी बफेटको कुल सम्पत्ति २०२४ को जुनसम्म १ खर्ब ३५ अर्ब पुगेको छ ।


क्लिकमान्डु