रुसमाथि युक्रेनको २५ ड्रोन आक्रमण, रूसी तेल डिपोमा आगलागी
मस्को । युक्रेनी ड्रोनले शुक्रबार बिहान पेट्रोल डिपोमा प्रहार गरी आगो लगाएको रूसी क्षेत्रीय गभर्नरले बताए । उनले यो आक्रमण सीमाबाट सयौं माइल टाढा भएको उल्लेख गरे ।
आक्रमण बिहान ४:३५ मा भएको बताउदै आगलागी सानो भएकाले यसलाई यसलाई छिटै नियन्त्रण गरिएको तथा आगलागीबाट मानिसहरूमा केही असर नपरेको मध्य रूसको टाम्बोभ क्षेत्रका गभर्नर म्याक्सिम येगोरोभले टेलिग्राममार्फत जारी सन्देशमा उल्लेख गरेका छन् ।
यसैबीच, रुसको रक्षा मन्त्रालयले ताम्बोभ क्षेत्रको उल्लेख नगरी गत राति २५ युक्रेनी ड्रोन ‘रोकिएको’ बताएको छ ।
पश्चिमी ब्रायन्स्क क्षेत्रमा, गभर्नर अलेक्ज्यान्डर बोगोमोभले एउटा मात्र ड्रोन खसालिएको र यसको भग्नावशेषले ‘प्रशासनिक भवनको छतलाई आंशिक रूपमा नष्ट गरेको’ बताए ।
दुई वर्षभन्दा बढी समयदेखि रूसी आक्रमणको सामना गरिरहेको युक्रेनले आफ्नो क्षेत्रमा आक्रमणको प्रतिक्रियामा रूसी ऊर्जा र रक्षास्थललाई लक्षित गरी नियमित रूपमा आक्रमणहरू सुरु गरेको छ ।