अमेरिकामा राष्ट्रपति चुनावको बहस: अर्थतन्त्रदेखि पोर्नस्टारसम्मका मुद्दा



बाइडेन-ट्रम्प आमनेसामने: यसपटक ट्रम्प पहिलेभन्दा अनुशासित र भद्र रुपमा प्रस्तुत भए । बाइडेनले भने पोर्नस्टारसँग ट्रम्पको सम्बन्धको मुद्दा समेत उठाएर आलोचना गरे । ट्रम्पले भने- ‘बाइडेन एक प्यालेस्टिनी जस्तो बनेका छन्’ । बाइडेनले भने-‘अपराधमा सजाय पाएको एउटै मान्छेलाई देखिराखेको छु ।’

एजेन्सी । यसै वर्ष नोभेम्बर ५ मा अमेरिकामा नयाँ राष्ट्रपतिका लागि चुनाव हुँदै छ । यही शुक्रबार राष्ट्रपति पदका लागि पहिलो प्रेसिडेन्सियल डिबेट (राष्ट्रपतीय बहस) एटलान्टामा भयो । वर्तमान राष्ट्रपति जो बाइडेन र निवर्तमान राष्ट्रपति डोनल्ड ट्रम्पबीच भएको ९० मिनेटको बहसले विश्व समुदायको ध्यान खिचेको छ ।

चारवर्षपछि यी दुई नेता फेरि बहसमा उत्रिएका हुन् । डेमोक्रेट उम्मेदवार बाइडेन र रिपब्लिकन उम्मेदवार ट्रम्पको यो बहसले अमेरिकी भविष्य कस्तो हुनेछ भनेर केही हदसम्म निर्धारण गर्नेछ । उनीहरुको बहस प्रमुख रुपमा अर्थतन्त्र र आप्रवासनको मुद्दामा केन्द्रित थियो । यद्यपि बहस व्यक्तिगत मुद्दातर्फ पनि भड्किएको थियो ।

धनाढ्यलाई फाइदा

बहसको सुरुवात नै देशको अर्थव्यवस्थाबाट भएको थियो । बढ्दो महंगीको विषय आएपछि राष्ट्रपति बाइडेनले निवर्तमान राष्ट्रपति ट्रम्पतर्फ देखाउँदै बिग्रिएको अर्थतन्त्र ट्रम्पले नै आफूलाई हस्तान्तरण गरेको बताए । जवकि ट्रम्पले भने आफ्नो शासनकालमा अमेरिकाको अर्थतन्त्र महान भएको भन्दै प्रतिरक्षा गरे ।

बाइडेनले ट्रम्पलाई केही काम नगरेको भन्दै धेरै सुधार्नुपर्ने अवस्थाबाट आफूले काम गरेको बताएका थिए । यसबीचमा उनले ट्रम्पतर्फ इंगित गर्दै अव्यवस्था सिर्जना गरेको आरोप लगाएका थिए । यस्तै ट्रम्पले धनाढ्यहरुलाई फाइदा हुने काम गरेको बाइडेनको दाबी थियो ।

ट्रम्पले भने आफ्नो कार्यकालमा मतदाताहरुका लागि इतिहासमै सबैभन्दा धेरै कर कटौती गरिएको बताए । मतदाताहरुले अर्थतन्त्र र आप्रवासनको विषयमा ट्रम्पलाई समर्थन गरेका थिए । यस्तै गर्भतपन, स्वास्थ्य र वातावरणको मुद्दामा बाइडेनले समर्थन पाएका थिए । तर के बाइडेनले आप्रवासनमा वृद्धि भएको विषयलाई आफ्ना मतदातासँग उनीहरुको चिन्तालाई सम्बोधन गर्न सक्छन् ? तर रिपब्लिकन पार्टीले यस मुद्दालाई प्रमुख मुद्दा बनाएको थियो । के पूर्वराष्ट्रपति ट्रम्पले यदि आफूले जितेमा फेरि गर्भपतनमा प्रतिबन्ध नलगाउने भनेर मतदातालाई आश्वस्त बनाउन सक्लान् ?

बाइडेनले भने यसबीचमा अर्थतन्त्र सुधारिएको छ भनेर मतदातालाई विश्वस्त बनाउनका लागि नै आफ्नो कार्यकालको एक वर्षभन्दा लामो समय खर्चिए । ट्रम्पको चुनावी अभियानका प्रवक्ता जेसोन मिलरले भने बाइडेनको आलोचना गर्दै भनेका छन्, ‘हामीलाई थाहा छ कि बाइडेन हरेक विषयको दोष ट्रम्पमाथि थुपार्ने प्रयास गरिरहेका छन् । तर सबै ट्रम्पको अर्थतन्त्र र बाइडेनको अर्थतन्त्रबीच भिन्नता अमेरिकनहरुले बुझेका छन् । ट्रम्पको अर्थतन्त्र महान थियो । जहाँ हरेकले राम्रो गरिरहेका थिए । तर बाइडेनको अर्थतन्त्र सबैलाई थाहा छ ।’

ट्रम्पको खराब नीतिका कारण उमेरको मुद्दाका बावजुद बाइडेन यसअघि राष्ट्रपतिमा निर्वाचित भएका थिए । तर उनले अपेक्षाकृत रुपमा अर्थतन्त्र विकास गर्न नसकेको भन्दै आलोचित हुँदै आएका छन् । पछिल्लो समय अमेरिकामा बढ्दो मुद्रास्फिति र रोजगारी सिर्जना गर्न नसक्दा समस्याहरु देखिन थालेका छन् । बाइडेनले भने यसमा आफ्नो जवाफदेहिता देखाउनुको सट्टा ट्रम्पमाथि दोष थूपरिरहेका छन् । जवकि युक्रेन युद्ध लगायत मुद्दामा पनि बाइडेन विवादित बन्दै आएका छन् ।

अफगानिस्तान र कोरोनामा कडा बहस

बहसको क्रममा अफगानिस्तानबाट अमेरिकी सेना फिर्ता गर्ने र कोरोना महामारीबीच सरकारको रवैयालाई लिएर पनि प्रश्नहरु उठेका थिए । अमेरिकी राष्ट्रपति बाइडेनले कोरोना महामारीको अवधिमा तत्कालीन राष्ट्रपति ट्रम्पले देशलाई कुव्यवस्थामा बदलिदिएको टिप्पणी गरे । साथै अफगानिस्तानमा लडिरहेको अमेरिकी सेनालाई फिर्ता ल्याएको विषयमा पनि ट्रम्पमाथि बाइडेनले आलवचना गरेका थिए ।

ट्रम्पले भने अफगानिस्तानबाट आफ्ना सेनालाई साहस र गरिमासहित बाहिर निकाल्ने निर्णय गरिएको प्रतिक्रिया दिए । यस्तै कोरोना महामारीमा अमेरिकाले त्यसबेला आवश्यकताको आधारमा मात्रै खर्च गरेको र त्यसबाट देश महामन्दीमा नफसोस् भनेर त्यस्तो निर्णय गरेको ट्रम्पको तर्क थियो । साथै महामारीको अवधिमा गरेको निर्णयले सबै कुरा राम्रो नै भएको उनको भनाइ छ ।

सैनिकको मृत्युबारे बाइडेन

बाइडेनले दाबी गरे, ‘पछिल्लो दशकमा म त्यस्तो एक्लो राष्ट्रपति हुँ जसको कार्यकालमा विश्वमा कहीँ पनि कुनै पनि सैनिकको मृत्यु भएन ।’ यद्यपि बाइडेनको यस्तो दाबीलाई थुप्रै अन्तर्राष्ट्रिय मिडियाले झुटो दाबी भनेर आलोचना गरिसकेका छन् । यही वर्ष जनवरीमा जोर्डनमा एक ड्रोन हमलामा तीन अमेरिकी सैनिक मारिएका थिए । तर बाइडेनले त्यस घटनालाई अनदेखा गरेर बहसमा दाबी गरिदिए ।

यसवाहे २०२१ को अगस्टमा अफगानिस्तानबाट सेना निस्किने क्रममा काबुल विमानस्थलमा आत्मघाती आक्रमण भएको थियो । जहाँ १३ सैनिक मारिएका थिए । उक्त आक्रमणको जिम्मेवारी इस्लामिक स्टेट ग्रुपको आईएसले लिएको थियो । डोनाल्ड ट्रम्पको कार्यकालमा भने लडाइँको क्रममा ६५ अमेरिकी सैनिक मारिएका थिए ।

बाइडेनले उठाए पोर्नस्टारको मुद्दा

बहसको क्रममा राष्ट्रपति बाइडेनले पोर्नस्टारसँग जोडिएको ट्रम्पको ‘हस मनी’को मुद्दा उठाएका थिए । जसमा हालै न्युयोर्कको एक अदालतले ट्रम्पलाई दोषी ठहर गरिसकेको छ । ट्रम्पले २०१६ मा एक स्क्यान्डल बचाउनका लागि पूर्वयौनकर्मी स्टर्मी ड्यानियल्सलाई गोप्य रुपमा अवैध तरिकाले पैसा तिरेको आरोप लागेको थियो । त्यस मुद्दामा हालै अदालतले ट्रम्पलाई दोषी ठहर गरिसकेको छ ।

ट्रम्पमाथि आक्रमण गर्दै बाइडेनले भने, “अपराधमा सजाय पाएका एकै जना व्यक्तिलाई म अहिले देखिरहेको छु ।” यौनकर्मीसँगको सम्बन्धलाई लिएर बाडेनले ट्रम्प एक नैतिक व्यक्ति नभएको पनि आरोप लगाए । जवकि ट्रम्पले यो आरोपलाई खारेज गरिदिए । यससँगै बाइडेन अमेरिकाकै यति कमजोर राष्ट्रपति पनि हुन्, जो निवर्तमान राष्ट्रपतिसँग दोस्रो पटक चुनावी बहसमा सामेल भइरहेका छन् ।

बहसको क्रममा इजरायल गाजाको विषय पनि जोडदार रुपमा उठेको थियो । ‘बाइडेन एक प्यालेस्टिनी जस्तो बनेका छन् ।’ र बाइडेन राष्ट्रपतिको रुपम अलोकप्रिय बनिरहेको उनको दाबी थियो । यससँगै ट्रम्पले युक्रेन युद्धको मुद्दा पनि बहसमा उठाएका थिए । उनले युरोपका देशहरुले अमेरिकाको तुलनामा कम खर्च गरिरहेको भन्दै यसमा पनि उनले बाइडेनको आलोचना गरेका थिए ।

उनले नेटो सहयोगीमाथि पैसा खर्च गर्नका लागि दबाब किन दिइएन भनेर बाइडेनलाई प्रश्न गरेका थिए । साथै बाइडेनलाई इजरायल हमास युद्ध अन्त्यका लागि के गर्नुहुन्छ भनेर पनि बाइडेनलाई सोधिएको थियो । जवाफमा बाइडेनले हमास युद्ध अन्त्य गर्न नचाहेको प्रतिक्रिया दिएका थिए । साथै यसका लागि हमासलाई सिध्याउनुपर्ने बाइडेनको प्रतिक्रिया थियो ।

बहसको क्रममा ट्रम्पको प्रदर्शन पहिलेभन्दा ज्यादै भद्र र अनुशासित थियो भनेर धेरैजसो अन्तर्राष्ट्रिय मिडियाले टिप्पणी गरेका छन् । बहसको क्रममा आक्रामकता र तुच्छ टिप्पणी उनले यसपटक गरेका छैनन् । ट्रम्पले आफूमाथि उठेका कडा सवालहरुलाई पनि बाइडेनतर्फ मोडिदिएका थिए । ट्रम्पले यस्ता दाबीहरु गरे ती सबैको तथ्य र प्रमाणहरु थिएन । तर झुटा पनि थिएनन् । तर बाइडेन ट्रम्पका कमजोरी समात्न कमजोर नै देखिए ।

उदाहरणका लागि गर्भपतन मुद्दा उठेको थियो । तर ट्रम्पले यसबारे पटक पटक त्यो डेमोक्रेटिक अतिवाद थियो भन्दै आफ्नो बचाउ गरिरहेका थिए । यसबारे नै उनले झुटो प्रतिक्रिया दिए कि बाइडेनको पार्टीका नेता बच्चाहरुको जन्मपछि गर्भपतनको समर्थन गर्छन् । यस मुद्दामा बाइडेन पूर्ण रुपमा ट्रम्पमाथि हाबी हुनसक्ने प्रसस्त आधार थियो । तर उनको प्रदर्शन कमजोर नै देखियो ।


क्लिकमान्डु