युक्रेनको अन्डा र चिनीमा प्रतिबन्ध लगाउने युरोपियन आयोगको तयारी



एजेन्सी । युरोपियन कमिसनले युक्रेनबाट आयात हुने अण्डा र चिनीमा फेरि प्रतिबन्ध लगाउने तयारी गरेको छ । युरोपका २७ देशको आर्थिक नीति निगरानी गर्ने आयोगले आगामी दुई साताभित्र युक्रेनबाट आयात हुने यी वस्तुमा प्रतिबन्ध लगाउने तयारी गरेको युरोन्युजमा उल्लेख छ ।

युरोपियन देशहरुको मागका कारण युरोपियन कमिसन युक्रेनका वस्तुमा भन्सार शुल्क लगाउन बाध्य भएको बताइन्छ । ठूलो मात्रामा अन्डा निर्यात गर्ने देशको रुपमा युक्रेन चिनिन्छ । साथै व्यापार विज्ञहरुले युक्रेनको चिनीमाथि पनि युरोपियन आयोगले छानबिन गरिरहेको बताएका छन् ।

खाद्य तथा पेय पदार्थको क्षेत्रमा चिनी उपभोक्ताहरुको प्रतिनिधित्व गर्ने युरोपियन संघ (सीआईयुएस)ले भने युक्रेनबाट सम्भावित आयात प्रतिबन्धबारे चिन्ता व्यक्त गरेको छ ।

यस्तो प्रतिबन्धले युरोपको बजारमा आगामी वर्षहरुमा चिनीको माग पूरा हुन नसक्ने भन्दै चिन्ता व्यक्त गरिएको छ । २०२२ को जुन ४ मा अस्थायी व्यापार उदारीकरण उपायहरुमा एक विनियम लागु गरिएको थियो । उक्त दस्तावेजले युक्रेन र युरोपियन युनियनबीच एसोसिएसन सम्झौतामा उल्लेखित गरिएको भन्सार शुल्क अस्थायी रुपमा निलम्बित गरेको थियो ।

बुल्गेरिया, पोल्यान्ड, रोमानिया, स्लोभाकिया र हंगेरीले भने अनुचित प्रतिस्पर्धाको कारण युरोपियन कमिसनले युक्रेनी खाद्यान्नमा भन्सार शुल्क लगाउनुपर्ने माग गरिरहेका छन् ।


क्लिकमान्डु