जुलियन्स असान्ज रिहा, जेलबाट सिधै स्वदेश फर्किए



एजेन्सी । विकिलिक्सका संस्थापक जुलियन असान्ज रिहा भएका छन् । बेलायतको जेलमा पाँच वर्ष बिताएपछि असान्ज रिहा भएका हुन् । रिहा भएसँगै उनी आफ्नो देश अस्ट्रेलिया फर्किएका छन् ।

अमेरिकी सेनाको गोप्य दस्तावेज सार्वजनिक गरेपछि विश्वभर तहल्का मच्चाएका असान्जलाई अमेरिकाले मुद्दा चलाएपछि लण्डनस्थित इक्वेडरको शरणमा रहँदै आएका थिए ।

२०१९ देखि भने उनी इक्वेडरको शरण छाडेर बेलायतकै जेलमा रहँदै आएका थिए । ५२ वर्षीय असान्जले अमेरिकी सेनाविरुद्ध सुराकी गरेको मुद्दामा आफ्नो गल्ती स्विकार गरेपछि सोमबार रिहा भएको बताइएको छ । यसअघि भने उनी रिहा भए पनि अमेरिकाले पक्राउ गर्ने र अमेरिकामा फेरि मुद्दाको सामना गर्नुपर्ने अवस्था थियो ।

सोमबार रिहा भएपछि उनलाई अस्ट्रेलिया पठाउनका लागि बेलायतको बेलमार्स जेलबाट उच्च सुरक्षा दिएर विमानस्थलतर्फ लगिएको छ । असान्जलाई बुधबार बिहान ९ बजे अमेरिकी प्रसान्त क्षेत्र साइपनको एक अदालतमा उपस्थित हुनेछन् ।

असान्ज रिहा भएपछि विकिलिक्सले पनि सामाजिक सञ्जाल एक्समा एक विज्ञप्ति लेख्दै उनी १९०१ दिनपछि रिहा भएको कुरा जानकारी दिएको छ । यस्तै उनकी पत्नी स्टेलाले पनि खुसी व्यक्त गर्दै उनी रिहा भएको एक्समा लेखेकी छन् ।

स्टेलाले उत्साही हुँदै लेखेकी छन्, ‘जुलियन स्वतन्त्र भए !!!! तिमीप्रति हाम्रो अपार कृतज्ञता म शब्दहरुमा व्यक्त गर्न सक्दिनँ । हो तिमीले यो साकार पार्नका लागि वर्षौंसम्म प्रयास गरेका छौ । धन्यवाद । धन्यवाद । धन्यवाद ।’

असान्ज २००६ मा विकिलिक्स लन्च गरेसँगै चर्चामा आएका थिए । जहाँ उनले मानिसहरुलाई सार्वजनिक महत्त्वका गोप्य दस्तावेजहरु वर्गीकृत सामग्रीको रुपमा पोस्ट गर्नका लागि एक प्लेटफर्म सिर्जना गरेका थिए ।

यही विकिलिक्समा असान्जले अमेरिकी सेनको हेलिकप्टरले इराकको बगदादमा पत्रकारसहित दुई दर्जन मानिसको हत्या गरेको भिडियो फुटेज २०१० मा सार्वजनिक गरेका थिए । यससँगै अमेरिकी सेनाका इराक युद्ध सम्बन्धी हजारौं गोप्य दस्तावेज उनले सार्वजनिक गरेका थिए । २०१९ मा भने उनीमाथि डोनल्ड ट्रम्पको सरकारले सैन्य जासुसी गरेको भन्दै विभिन्न १७ वटा मुद्दा लगाएको थियो ।


क्लिकमान्डु