३ वटा सहकारीमा दर्शनधारी समूहको ठगी: ३६ निजी कम्पनीमा लगानी गरेका अध्यक्षसहित सञ्चालक फरार



काठमाडौं । कीर्तिपुरमा रहेको दर्शन बचत तथा ऋण सहकारी संस्थाका अध्यक्षसहित सञ्चालक बचतकर्ताको करोडौं रुपैयाँ बचत अपचलन गरेर फरार भएका छन् । जेठ २१ गते सहकारीका सम्पूर्ण सेवाहरु बन्द भएको भन्दै संस्थामा सूचना टाँसेर अध्यक्षसहित सञ्चालक फरार भएका हुन् । राजनीतिक दलका नेता र प्रहरीका अधिकारीहरुको आडमा उनीहरुले सहकारीका बचतकर्ताको बचत निजी कम्पनीका लगानी गर्दै आएका थिए ।

विभिन्न सहकारीलाई मर्ज गराउने र उनीहरुको पैसा संस्थाका अध्यक्ष दिनेश दर्शनधारी नेतृत्वको समूहको निजी करिब ३६ वटा कम्पनीमा लगानी भएको पाइएको छ । करिब १ वर्षअघि देखि सहकारीमा समस्या देखिन थालेपछि बागमती प्रदेशको संस्कृति पर्यटन तथा सहकारी मन्त्री शैलेन्द्र बज्राचार्यलाई समेत राखेर पटक पटक छलफल समेत भएको थियो । तर सहकारीका सञ्चालक बचतकर्तालाई पैसा फिर्ता गर्नुको सट्टा संस्था नै बन्द गरेर भागेका छन्।

सहकारीका सञ्चालक फरार हुनुअघि बचतकर्ता संस्थाबाट बचत फिर्ता नपाएपछि प्रहरीमा पुगेका थिए । कीर्तिपूर प्रहरीले पनि संस्थाका अध्यक्षसहित सञ्चालक र बचतकर्तालाई राखेर पटकपटक छलफल गरेको थियो । तर संस्थाले बचत फिर्ता नगरी अध्यक्षसहितका पदाधिकारी संस्था बन्द गरेर जेठ २० गतेदेखि फरार भएका हुन् ।

संस्थाले बचतकर्तालाई बर्गीकरण गरेर ५ हजारभन्दा कम जेष्ठ नागरिक लगायतलाई पहिलो चरणमा २१ गतेपछि बचत फिर्ता गर्ने भनेको थियो ।

सहकारीका अध्यक्ष दर्शनधारीले संस्थामा संकलन भएको बचत आफ्ना विभिन्न तीन दर्जन बढी कम्पनीमा लगानी गरेका छन् । उनले यो अवधिमा केही सहकारीलाई मर्जसमेत गरेको पाइएको छ । दर्शन सहकारीको सञ्चाल रहेका व्यक्ति अन्य सहकारीमा समेत अध्यक्ष बनेका थिए । दर्शन सहकारीको सञ्चालक तथा पदाधिकारीहरु अन्य सहकारीमा अध्यक्ष हुने र त्यो सहकारीको पैसा दर्शनमा ल्याउने गरेका थिए ।

दर्शन सहकारीमा यशोदा राई अहिले सचिव छिन् । उनी विराटनगरमा रहेको इष्टर्न स्टार कृषि सहकारीको अध्यक्ष हुन् । दिनेश दर्शनधारी उक्त सहकारीमा सल्लाहकार छन् । ईष्टर्न स्टार कृषि सहकारी संस्थाको ईष्टर्न स्टार एकीकृत कृषिवन परियोजना रंगेली नगरपालिका-२ रहेको छ । सहकारीको ६० बिगाहा जमिनमा एकिकृत कृषि बन परियोजना रहेको छ । यो परियोजनाको कोशी प्रदेशमा मुख्यमन्त्री राजेन्द्र राईले उद्घाटन गरेका थिए । ईष्टर्न स्टार कृषि सहकारी संस्थाका बचतकर्ताको पैसा पनि जोखिममा परेको छ ।

यो प्लटिङ गर्ने कम्पनी हो । उक्त कम्पनीकी अध्यक्ष यशोदा राई हुन् । सहकारीको सचिव र यो कम्पनीको अध्यक्ष राई एकै व्यक्ति हुन् । उक्त कम्पनीका उपाध्यक्ष आयुष दर्शनधारी रहेका छन् । उनी दर्शन सहकारीका अध्यक्ष दिनेशका भजित हुन् । निदेशको आफन्त शारदा दर्शनधारी पनि कम्पनीमा सदस्य छिन् ।

दिनेश दर्शनधारीका भाइ योगेन्द्र दर्शनधारी हुन् । उनी निर्मल बुद्धभूमि बचत तथा ऋण सहकारीका अध्यक्ष थिए । उक्त संस्था दर्शनमा २०८० भदौ २५ गते मर्ज भयो । शान्ति कुमारी राई अध्यक्ष रहेको आदिवासी जनजाति महिला बचत तथा ऋण सहकारी संस्था पनि दर्शन सहकारीमा मर्ज भएको थियो ।

आदिवासी जनजाति सहकारी २०७८ वैशाख ९ गते दर्शन सहकारीमा मर्ज भएको हो । त्यही मितिमा सोनित्य बचत तथा ऋण सहकारी संस्था पनि मर्ज भयो । मर्ज भएपछि नयाँ सञ्चालक समिति बन्यो । मर्ज भएर नयाँ सञ्चालक समिति बन्दा कोषाध्यक्ष दुई जनालाई बनाइएको थियो । जेनु महर्जन र आदिवासी जनजाति महिला बचत तथा ऋण सहकारीको तत्कालीन अध्यक्षलाई मर्ज भएपछि कोषाध्यक्ष बनाइएको हो ।

दर्शन सहकारीका सञ्चालक सिमरामा रहेको नवरात्री कृषि सहकारीमा पनि सञ्चालक छन् । उक्त सहकारीको बचत पनि दर्शनमा नै गएको हुनसक्ने बताइन्छ ।

सिमरामा दिनेशको नेतृत्वको दर्शन इनर्जी प्राली रहेको छ । यो कम्पनीको अध्यक्ष तारा तुलाधर रहेकी छिन् । तुलाधर दर्शन बचत तथा ऋण सहकारीकी उपाध्यक्ष हुन् ।

सहकारीको धेरै लगानी सिमारामा रहेको छ । सहकारीको प्रमुख कार्यकारी अधिकृत सूवर्ण महर्जन रहेका छन् । उनको नाममा आवर्स मोटर लगायत कम्पनी रहेका छन् । उनकी श्रीमती जेनी महर्जन संस्थामा कोषाध्यक्ष रहेकी छिन् ।

अध्यक्ष दिनेश दर्शनधारीकी कान्छी श्रीमती आयुषा दर्शनधारी दर्शन सहकारीकी सिनियर म्यानेजर हुन् । उनी ऋण समितिको संयोजक समेत हुन् । उनी यशोदा राई अध्यक्ष भएको विराटनगरमा रहेको इष्टर्न स्टार कृषि सहकारी संस्थाको उपाध्यक्ष पनि हुन् ।

लेखा समितिको संयोजक सहकारीका सिनियर म्यानेजर पुजन तुलाधर सिकर्मी रहेका छन् । उनी दर्शनसँग मर्ज भइसकेको स्वनित्य सहकारीमा थिए ।

दर्शन सहकारी समस्यामा पर्दै गएपछि स्वेतपत्र जारी गरेको छ । संस्थाकाअनुसार असोज मसान्तसम्म पुँजी तथा दायित्व १ अर्ब ५९ करोड ५० लाख १४ हजार ९४६ रुपैयाँ छ । सहकारीमा १२ हजार २३१ बचतकर्ता रहेका छन् ।

सहकारीको राष्ट्रिय सहकारी बैंक र काठमाडौं बचत तथा ऋण सहकारी संघबाट ३४ करोड ७६ लाख १६ हजार १७३ रुपैयाँ ऋण तथा सापटी छ । सहकारीले तिर्नुपर्ने कर दायित्व १ करोड ७४ लाख ५६ हजार ८२६ रुपैयाँ रहेको छ ।

सहकारीले १ अर्ब ४८ करोड ६७ लाख १३ हजार २०० रुपैयाँ कर्जा लगानी गरेको छ । असोज मसान्तसम्म सहकारीले ६० करोड ६९ लाख ८८ हजार ९९५ रुपैयाँ बिना धितो व्यक्तिगत जमानीमा ऋण लगानी गरेको छ ।

यो ऋणबाट ४ करोड ३ लाख ७३ हजार ५०१ रुपैयाँ ब्याज उठाउन बाँकी छ । यो सबै ऋण निजी कम्पनीमा गएको बचतकर्ताको भनाइ छ ।

सहकारीले धितो राखेर ८७ करोड ९७ लाख २४ हजार २०४ रुपैयाँ रहेको छ । यसबाट उठाउनु पर्ने ब्याज ३ करोड १५ लाख ४७ हजार ६३७ रुपैयाँ रहेको छ । धितो पनि कमशल खालको रहेको पीडित बचतकर्ताको भनाइ छ । सहकारीले बचतकर्ताबाट संकलन गरेको पैसा इनरुवा, सिमरा, चितवन, दाङ लगायत ठाउँमा लगानी गरेको श्वेतपत्रमा उल्लेख गरिएको छ।

सहकारीका बचतकर्तामध्ये ३१ जनाले १ अर्ब बढी माग दाबी गरेका छन् । जेठ २० गते भन्दा अघि सहकारीले बचतकर्तालाई जग्गा दिने भनेको थियो । सहकारीले इनरुवामा ग्रिन हिलसिटी कम्पनीको नाममा प्लानिङ गरेको छ । उक्त जग्गा खरिद गर्न भनेको छ । प्रतिकठ्ठा १४, १५ लाख रुपैयाँ पर्ने सहकारीलाई ३५, ४० लाख मोल गरेको एक पीडित बचतकर्ताले बताए ।

सहकारीको नाममा चितवन जिल्ला रन्तनगर नगरपालिका–४ जितपुरमा पनि जग्गा छ । त्यहाँको जग्गालाई पनि चलन चल्तीको मूल्य भन्दा बढी लिन खोजेको बचतकर्ताको गुनासो छ । सहकारीले दाङ जिल्लाको जितपुरमा पनि जग्गा प्लटिङ गरेको छ ।

सबै सहकारीबाट संकलन भएको बचत दिनेशले ३६ वटा निजी कम्पनीमा लगानी गर्ने गरेका थिए । यी सबै कम्पनीका मुख्य लगानीकर्ता उनी आफै हुन् । यी कम्पनीका सहकारीका पदाधिकारी, सञ्चालक तथा व्यवस्थापन समूहका व्यक्तिहरु प्रमुख तथा सञ्चालक रहेका छन् । दिपु एण्ड ब्रदर्श निर्माण सेवा रहेको छ । यो कम्पनीमा निदेशका माइलो भाइ रहेका छन् ।

दिनेश लगायतको नाममा आवर्स कन्ट्रक्सन प्रालि., मुक्तिनाथ इन्भेष्टमेन्ट प्रालि, आवर्स मोटर्स प्रालि, ट्रि इन्टरटेन्मेन्ट प्रालि, ट्रि मिडिया, इस्टर्स स्टार फर्टिलाइजर प्रालि, इस्टर्स स्टार कृषि प्रालि, दर्शन मल्टि सोरुम, दर्शन होल्डिङस प्रालि, दर्शन फर्टिलाइजर प्रालि, ईस्टर्न स्टार इनर्जी प्रालि, सरना फिसटेल जुन प्रालि, आरुष इलेक्ट्रोनिक प्रालि, रामपुर देउकी कृषि फार्म, दर्शन डेरी, बोधिनादो फोरेष्ट्रि प्रालि, रमौली कृषि फर्म, दर्शन हिट इंग्रजेन्ट प्रालि रहेको छ ।

यस्तै शाही सारा उद्योग, ईस्टर्स स्टार नर्सरी, इस्मेन्ट प्रालि, बिल्डर इन्स्टन्ट प्रालि, सारजिण्डेसन सारा भिलेज प्रालि, ईस्टर्स स्टार डेरी प्रालि, फिसटेल फिल्म सिटी प्रालि, दिपु एण्ड ब्रदर्स निर्माण सेवा प्रालि, दर्शन स्टार कृषि फर्म, दिवस प्रेस प्रालि, आवर्स मोटर्स स्पेयर पार्टस् एण्ड सर्मिस प्रालि, दर्शन इनर्जी, धौलागिरी नेचुरल फुड्स एण्ड हर्बस प्रालि, इस्टन स्टार फर्टिलाइजर, भिज्मो वर्लड, आस्था इलेक्ट्रोनीक प्रालि, बोधीमाई मोर्डन एग्रो र दर्शनमल्टि इन्भेष्टमेन्ट प्रालि लगायत रहेका छन् ।


सोभित थपलिया