७औं पटक बजेट प्रस्तुत गर्दै भारतीय अर्थमन्त्री सीतारमण



भारतका अर्थमन्त्रीहरुमध्ये सीतारमण मात्रै त्यस्तो अर्थमन्त्री हुन् जसले लगातार ७ पटकसम्म बजेट प्रस्तुत गर्ने अवसर पाएकी छन् ।

एजेन्सी । भारतीय अर्थमन्त्री निर्मला सीतारमणले आगामी वर्षको बजेट प्रस्तुत गर्दैछिन् । भाजपाबाट नवनिर्वाचित सांसद सीतारमणले यसपटक लगातार सातौं पटक बजेट प्रस्तुत गर्छिन् । र भारतमा यसरी सातौं पटक बजेट प्रस्तुत गर्न पाउने उनी उक्लो अर्थमन्त्री पनि हुन् ।

६ वटा पूर्ण र एउटा अन्तरिम बजेट प्रस्तुत गर्दै ६४ वर्षीया सीतारमणले यसमा मोरारजी देसाइलाई पनि उछिन्दै छिन् । भारतीय सत्ता राजनीतिमा सीतारमणको उल्लेखनीय यात्रा देखिन्छ । २०१४ मा नरेन्द्र मोदी नेतृत्वको सरकारमा पहिलो पटक वाणिज्य तथा वित्त राज्यमन्त्रीको रूपमा सहभागी भएकी सीतारमण २०१७ मा सरकार गठन हुँदा रक्षा मन्त्री बनेकी थिइन् ।

यस्तै २०१९ मा मोदीको दोस्रो कार्यकालमा उनी अर्थमन्त्री बनिन् । यसपटक पूरा कार्यकाल अर्थमन्त्री बन्ने पहिलो महिला मन्त्री पनि थिइन् उनी । कोरोना महामारीको बीचमा जटिल बलेको भारतीय अर्थतन्त्रलाई चलायमान बनाउनुपर्ने अर्थमन्त्रीको रुपमा उनका लागि ठूलो चुनौती बनेको थियो ।

कोरोना महामारीको बेला बजेटको आकार आर्थिक वर्ष २०१९ को कुल गाह्रस्थ उत्पादनको १२.२ प्रतिशतबाट बढेर आर्थिक वर्ष २०२१ मा १७.७ प्रतिशत पुगेको थियो। पछिल्लो १० वर्षको अवधिमा उनकै पालामा भारतको राज्यकोष पाँच गुणा बढेको छ ।

उनै सीतारमणलाई मोदीले आफ्नो तेस्रो कार्यकालमा अर्थमन्त्रीको रुपमा नियुक्त गरेका हुन् । जवाहरलाल नेहरु विश्वविद्यालयबाट अध्ययन गरेकी सीतारमणले जी २० मा समेत देशको प्रतिनिधित्व गरिसकेकी छन् । त्यस क्रममा उनले क्रिप्टोकरेन्सीसँग सम्बन्धित मुद्दा साथै बहुपक्षीय विकास बैंकहरुमा व्यापक सुधारको पक्षमा आफ्ना तर्क राखेकी थिइन् ।

२०१९ मा अर्थमन्त्रालय सम्हाल्दै गर्दा सीतारमणले मौजुदा कम्पनीहरुका लागि आधार कर्पोरेट कर ३० प्रतिशतले घटाएर २२ प्रतिशत पुर्‍याउँदै केही नयाँ निर्माण कम्पनीहरुका लागि १५ प्रतिशत कर पुर्‍याउने घोषणा गरेकी थिइन् । यस्तो योजनाको उद्देश्य रोजगारी र व्यक्तिगत खर्चलाई बढावा दिनका लागि कर्पोरेट नगद खुला गर्नु थियो । हाल ठूला कम्पनीहरुले कटौती र प्रोत्साहन पाएका छन् । साथै नयाँ कर प्रणालीमा सिफ्ट भएका छन् । तर यसले निजी पूँजीगत खर्च तुलनात्मक रुपमा वृद्धि नभएको बताइन्छ ।

यद्यपि यसपटक बजेट पेस गर्नुअघि सीतारमणका लागि चुनौती पनि उत्तिकै छ । बढ्दो बेरोजगारी र महंगीका बीच उनको पार्टी भाजपा नेतृत्वको सरकारलाई ठूलो चुनौती देखिएको छ । यससँगै निजी लगानीको क्षेत्रमा अर्थमन्त्री सीतारमणले कस्ता योजना लागू गर्छिन् भन्ने कुराबारे धेरैको चासो छ । जुन विषय नै उनका लागि प्रमुख चुनौतीको रुपमा देखिएको छ ।


क्लिकमान्डु