निर्माण सामग्री बाटोमा नराख्न महानगरको चेतावनी, भन्यो- सँधियारलाई दुःख नदिनू, कामदारको बिमा गर्नू



काठमाडौं । काठमाडौं महानगरपालिकाले भवन तथा पूर्वाधार निर्माण गर्दा बाटोमा निर्माण सामाग्री नराख्न चेतावनी दिएको छ । काठमाडौं महानगरपालिकाले नगरपालिकाभित्र घर, सडक, फुटपाथ, ढललगायत भौतिक संरचना निर्माण गर्दा अपनाउनुपर्ने सुरक्षा विधि सम्बन्धी सूचना जारी गर्दै यस्तो जानकारी गराएको हो ।

काठमाडौं महानगर क्षेत्रभित्र भवन, सडक, फुटपाथ, ढललगायतका भौतिक संरचना निर्माण गर्ने कार्य तीव्र रूपमा भइरहेको भन्दै यसरी निर्माण कार्य गर्दा आवश्यक सावधानी नअपनाएको खण्डमा यसले वायु प्रदुषणका साथै सडक र गल्लीहरूमा अवरोध उत्पन्न हुने तथा दुर्घटनाको सम्भावना रहने बताएको छ । यही पक्षलाई मध्यनजर राखी निर्माण स्थलमा नियमहरू कडाइका साथ पालना गर्न सबैलाई ताकेता गरेको हो ।

महानगरले निर्माणका क्रममा प्रयोग हुने इँटा, बालुवा, गिट्टी, सिमेन्ट, छड, ह्युमपाइप लगायत निर्माण सामग्री तथा भत्काएर आएका सामग्रीको उचित व्यवस्थापन भवन निर्माण स्थलभित्रै वा छुट्टै स्थानमा व्यवस्थापन गर्न भनेको हो । महानगरले सार्वजनिक बाटोमा अबरोध हुने गरी निर्माण सामग्री तथा भत्काएर आएका सामग्री थुपार्न नपाइने भनेको हो ।

यसैगरी अग्ला भवन निर्माण गर्दा निर्माण अवधिभर संलग्न कामदारहरूलाई हेल्मेट, पञ्जा, ज्याकेट, सेफ्टी बेल्ट आदि सुरक्षाका विधि प्रयोग गरी काम गर्न आवश्यक व्यवस्था मिलाउन पर्नेछ । महानगरले भवन निर्माण स्थललाई पूर्ण रूपले जस्तापाताले घेर्न पनि निर्देशन दिएको छ । सार्वजनिक बाटोमा र संधियारको घर जग्गामा निर्माण सामग्री खसेर हुने सम्भावित दुर्घटनाबाट बचाउन निर्माण स्थलमा जाली लगाउनुपर्नेछ ।

महानगरले निर्माण सम्बन्धी आयोजनाको विवरण भएको सूचना पाटीमा आयोजनाको नाम आयोजना स्थल, योजना अवधि, निर्माण व्यवसायी वा घर धनीको विवरण, कार्यान्वयन गर्ने निकाय आदि स्पष्ट रूपमा देखिने गरी निर्माण अवधिभर राख्न भनेको छ । यसैगरी निर्माण स्थलमा प्रवेश गर्न अपनाउनुपर्ने सुरक्षाका विधि उल्लेख भएको सुरक्षा बोर्ड अनिवार्य रूपमा राख्नुपर्नेछ ।

महानगरले घरधनी आफैँले भवन निर्माण कार्य थालनी पूर्व नै तेस्रो पक्ष बीमा तथा कामदारहरूको दुर्घटना बीमा गर्ने व्यवस्था मिलाउन भनेको छ । यसैगरी सडक तथा फुटपाथ निर्माण र मर्मत कार्य गर्दा कुनै पनि किसिमको निर्माण सामग्री तथा भत्काएर आउने सामग्रीहरू निर्माण स्थलभन्दा बाहिर नआउने गरी ब्यारिकेड लगाउनुपर्नेछ साथै सार्वजनिक बाटो बन्द गरी कार्य गर्नुपर्ने भएमा निर्माण अवधिभर सूचना बोर्डको व्यवस्था गर्नुपर्नेछ ।

महानगरले धुलो तथा प्रदुषण नियन्त्रणका लागि निर्माण सामग्रीहरू तथा भत्काएर आएका सामग्रीहरू हटाइसकेपछि तुरुन्त निर्माण स्थल सफा गरी अनिवार्य रूपमा पानीले पखाल्न निर्देशन दिएको छ ।

महानगरले सबै घरधनी, निर्माण व्यवसायी तथा सम्पूर्ण सरोकारवाला निकायहरूलाई यसै सूचना मार्फत सूचित गरेको हो । अनुगमनका क्रममा सुरक्षा मापदण्ड पालना नभएको पाइएमा प्रचलित कानून बमोजिम कारबाही गरिने महानगरको चेतावनी छ ।

यो व्यवस्था काठमाडौँ महानगरपालिका क्षेत्रभित्रका भवन, सडक, फुटपाथ, खानेपानी, विद्युत, ढल निकास आदि सम्बन्धी सम्पूर्ण निर्माण कार्यसँग सम्बन्धित सबै निकाय तथा सरोकारवालालाको हकमा अनिवार्य गरेको हो ।


क्लिकमान्डु