भारतीय प्रधानमन्त्री मोदीको सपथ ग्रहण समारोहमा विनोद चौधरीलाई पनि निम्तो



काठमाडौं । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको तेस्रो कार्यकालको सपथ ग्रहण समारोहमा नेपाली उद्योगी विनोद चौधरी पनि उपस्थित हुने भएका छन् ।

चौधरी ग्रुपका अध्यक्ष एवं नेपाली काँग्रेसका सांसद विनोद चौधरी मोदीको सथप ग्रहण समारोहमा भाग लिन दिल्ली पुगेका हुन् । राष्ट्रपति कार्यालयबाट सपथ ग्रहणमा सहभागिताका लागि निमन्त्रणा प्राप्त भएपछि चौधरी दिल्ली गएका हुन् ।

भारतका प्रधानमन्त्री मोदीको सपथ ग्रहण समारोह आइतबार साँझ भारतीय समयअनुसार ७ बजेर १५ मिनेटमा राष्ट्रपति भवनमा आयोजना गरिने भएकोे छ । सोही अवसरमा मोदी सरकारका नवनियुक्त मन्त्रीहरुले पनि सपथ ग्रहण गर्ने कार्यक्रम छ ।

अध्यक्ष चौधरी भारतका प्रधानमन्त्री मोदीसँग व्यक्तिगत रूपमा समेत निकट मानिन्छन् ।सन् २०१४ र सन् २०१९ मा पनि भारतीय प्रधानमन्त्री मोदीको सपथ ग्रहण समारोहमा पनि चौधरीलाई निमन्त्रणा गरिएको थियो । मोदी गुजरातको मुख्यमन्त्री हुँदादेखि नै चौधरीसँग सुमधुर सम्बन्ध रहदै आएको बताइन्छ ।

आइतबार साँझ भारतको १६ औ. प्रधानमन्त्रीको रुपमा नरेन्द्र मोदीले शपथ ग्रहण गर्दैछन् । लगातार तेस्रो पटक प्रधानमन्त्री बन्न लागेका मोदीले यसअघिको भन्दा फरक गठबन्धन सरकारको नेतृत्त्व गर्दै प्रधानमन्त्री बन्न लागेका हुन् ।

मोदीको शपथ ग्रहण समारोहमा भाग लिन नेपालसहित विश्वका विभिन्न मुलुकका राष्ट्र प्रमुख र प्रधानमन्त्री भारत पुगेका छन् । मोदीले प्रधानमन्त्रीको शपथ ग्रहणसँगै आजै आफनो मन्त्रीपरिषद पनि विस्तार गर्ने तयारी गरेका छन् ।

अप्रिल १९ बाट सुरु भएको भारतको १८ औं लोकसभा निर्वाचन जुन १मा सम्पन्न भएको थियो भने जुन ४ मा निर्वाचनको नतिजा आएको थियो । जसमा भारतीय जनता पार्टी नेतृत्त्वमा रहेको एनडीएले २९३ सिट हासिल गर्यो भने कांग्रेस नेतृत्त्वमा रहेको इन्डिया गठबन्धनले २३४ सिट हासिल गरेको छ ।

अघिल्लो दूई कार्यकालमा भाजपाले एकल बहुमत हासिल गरेको थियो भने यस पटक गठबन्धनको सहयोगमा सरकार बनाउँदैछ ।

आज शपथ ग्रहण गरेपछि मोदीले भारतीय इतिहासमा लगातार तीन पटक प्रधानमन्त्री बनेका जवाहरलाल नेहरुको कीर्तिमान बराबरी गर्ने छन् । जवाहरलाल नेहरु सन् १९५२, सन् १९५७ र सन् १९६२ मा लगातार तीन कार्यकाल प्रधानमन्त्री बनेका थिए ।


क्लिकमान्डु