लन्डनबाट सिंगापुर उडेको विमान आँधीमा फस्दा एकको मृत्यु, ७१ यात्रु घाइते



एजेन्सी । लण्डनबाट सिंगापुरका लागि उडेको विमान एयर टर्ब्युलेन्समा फस्दा एक जनाको मृत्यु भएको छ । अरु ७१ यात्रु घाइते छन् । सिंगापुर एयरलाइन्सको एसक्यु३२१ को उडानमा मंगलबार यस्तो घटना भएको हो ।

घाइतेमध्ये ७ जनाको अवस्था चिन्ताजनक रहेको अन्तर्राष्ट्रिय मिडियाले बताएका छन् । मृत्यु हुने ७३ वर्षीय बेलायती नागरिक रहेको पनि बताइएको छ । विमानभित्र अशान्ति हुँदा उनको हृदयघात भएको हुनसक्ने प्रारम्भीक अनुमान गरिएको छ । केही यात्रुहरुको भने टाउकोमा चोट लागेको छ ।

सीएनएन, बीबीसी लगायतका मिडियामा प्रकाशित समाचार अनुसार विमानभित्र सामानहरु असरल्ल छरिएको तथा फुटेको र अक्सिजन पाइपहरु पनि चुँडिएको अवस्थामा देखिएको छ । विमान म्यानमारको आकाशमा पुगेपछि अचानक अत्यधिक आँधी आएको सिंगापुर एयरलाइन्सले जनाएको छ ।

यस्तो घटनापछि उक्त विमान सुरक्षित अवतरणका लागि थाइल्यान्ड गएको थियो । जहाँ घाइते यात्रुहरुलाई उपचारका लागि अस्पताल लगिएको छ । दुर्घटनापछि सिंगापुर एयरलाइन्स र बेलायत सरकारले पनि विज्ञप्ति जारी गरेका छन् ।


क्लिकमान्डु