डोल्पाको गुम्बाबाट हराएको मूर्ति चीनमा भेटियो, फिर्ता गर्न चीनले देखाएन चासो



काठमाडौं । डोल्पाको गाकर गुम्बाबाट हराएको शाक्यमुनी बुद्धको मूर्ति चीनको राष्ट्रिय सांस्कृतिक सम्पदा विभागमा भेटिएको छ । काठमाडौंको पूरातत्व विभागस्थित स्रोतका अनुसार चिनियाँ तस्करका रूपमा पहिचान भएका व्यक्तिहरुले मूर्ति चिनियाँ अधिकारीहरूमार्फत चीन पुर्‍याएका थिए । मूर्ति चिनियाँ सांस्कृतिक सम्पदा विभागमा पुर्‍याउनुअघि बेइजिङको चाइना गार्डियन इन्टरनेशनल अक्सन (सीजीआईए)मा पुर्‍याएको बताइएको छ ।

बेइजिङस्थित नेपाली राजदूतावासले उक्त मूर्ति फिर्ताको लागि पहल गरे पनि चीन सरकारले कुनै चासो देखाएको छैन । १५औं शताब्दिको उक्त मूर्ति डोल्पाको गकर गुम्बामा राखिएको थियो । जहाँबाट सन् २०१६ मे २५ देखि हराइरहेको थियो । ७ वर्षपछि नेपाली अधिकारीहरुले उक्त मूर्ति फिर्ताको लागि आग्रह गरेका छन् ।

वहुमूल्य सम्पत्तिको रुपमा लिइएको उक्त मूर्तिलाई नेपालका बौद्ध धर्मावलम्वीहरु भगवान बुद्धको गहन ज्ञान अर्थात् महापरिनिर्वाणको प्रतिकको रुपमा लिने गर्छन् । यस घटनाले चिनियाँ तस्करहरुबाट नेपालका ऐतिहासिक कलाकृतिहरु असुरक्षित हुने गरेको देखाउने पनि पूरातत्व विभागका अधिकारीहरु बताउँछन् ।

यसअघि पनि डोल्पा, मुस्ताङ, पाटन लगायतका ऐतिहासिक क्षेत्रबाट हराएका सयौं वर्ष पुराना कलाकृतिहरु अमेरिका, बेलायत लगायत देशमा भेटिने गरेका छन् । तीमध्ये कतिपय मूर्ति तथा कलाकृतिहरु सम्बन्धित देशका दूतावासको पहलमा फिर्ता पनि ल्याइएको छ ।

५ वर्षभन्दा पहिले उपल्लो डोल्पाकै राहाप गुम्बाबाट १४ सय वर्ष पुराना मूर्तिसहित ४२ थान ऐतिहासिक मूर्ति चोरी भएको थियो । यसबाहेक उपल्लो डोल्पाका प्रमुख गुम्बाहरु गाकर गुम्बासहित शे–गुम्बा, रे गुम्बा, मिखिम गुम्बा, बोन गुम्बा, राहाप गुम्बामा रहेका महत्त्वपूर्ण र ऐतिहासिक मूर्तिहरु चोरी भइसकेका छन्। पछिल्लो एक दशकमा डोल्पाका विभिन्न गुम्बाहरुबाट एक सयभन्दा धेरै मूर्ति चोरी भइसकेका छन् ।


क्लिकमान्डु