रवि लामिछानेलाई प्रमाण देखाउँदै गगन थापाले भने- दोषी भए राजनीति छाड्ने होइन, सजाय भोग्ने हो



काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई दोषी देखिए राजनीति छाड्छु भनेर नधम्क्याउन आग्रह गरेका छन् ।

आइतबार संसदमा बोल्न नपाएपछि संसद परिसरमा पत्रकार सम्मेलन गर्दै थापाले रवि लामिछाने जोडिएका सहकारी प्रकरणमा संसदीय छानविन समिति बनाउने कांग्रेसको अडान कायमै रहेको प्रष्ट पारे ।

सूर्यदर्शन, सुप्रिम लगायतका सहकारी र गोर्खा मिडियाले १ अर्ब दुरुपयोग भएको र गोर्खा मिडियाको १५ प्रतिशतको सेयरधनीसहितको प्रवन्ध निर्देशक रवि लामिछाने रहेका थिए ।

‘रविजीले मेरो बारेमा छानविन समितिले हेर्न पाउँदैन भनेर भनिरहनुभएको छ,’ उनले भने, ‘छानविन गर्न अवरोध गरेर दोषी देखिए राजनीति छाड्छु भन्नुहुन्छ, दोषी देखिए राजनीति छाड्ने होइन, सजाय भोग्ने हो ।’

उनले आफूलाई भोलि बिहान ११ बजेसम्ममा सहकारी प्रकरणमा छानविन समिति बन्नेमा विश्वास व्यक्त गरे ।

‘यो टिभीमा कार्यक्रम चलाएजस्तो होइन, उपप्रधानमन्त्री र गृहमन्त्री भएर देश चलाउन’ उनले भने, ‘मन्त्रीमाथि प्रश्न उठेपछि यसअघि रामशरण महत, भरत मोहन अधिकारी, जनार्दन शर्मा लगायतका विषयमा संसदीय छानविन समिति गठन भएको इतिहास हाम्रासामू ताजै छ ।’

संसदीय छानविन समितिले निर्दोष देखिए सँगै राजनीति गर्ने पनि गगनले प्रतिवद्धता व्यक्त गरे ।


क्लिकमान्डु