बैंकिङ प्रणाली सुरक्षित भएमात्रै आर्थिक स्थिरता हुन्छ, बैंक सबल बन्न न्यूनतम नाफा हुनैपर्छः गभर्नर



फाइल तस्बिर

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले मुलुकमा आर्थिक स्थिरता हुनको लागि बैंकिङ प्रणाली सुरक्षित र सबल हुन आवश्यक रहेको बताएका छन् ।

गभर्नर अधिकारीले बैंकहरु बचेन भने सर्वसाधरणको निक्षेप बच्न नसक्ने भन्दै अर्थतन्त्र स्थिर र चलायमान हुनको लागि बैंकिङ प्रणाली सुरक्षित हुन जरुरी रहेको बताए ।

गभर्नर अधिकारीले अर्थसमिति बैठकमा बैंकिङ प्रणालीलाई बचाउँदै सर्वसाधरणहरुको बचतलाई सुरक्षित बनाउनुपर्ने अहिलेको आवश्यकता रहेको बताए ।

बैंकिङ प्रणाली (बैंक) नबचे मुलुकमा आर्थिक संकट आउने भन्दै उनले आर्थिक स्थिरताको लागि बैंकिङ प्रणाली धराशायी हुन नहुने बताए ।

बैंकिङ प्रणाली सुरक्षित र सबल हुनको लागि बैंकहरुकाले न्यूनतम नाफा कमाउन आवश्यक रहेको गभर्नर अधिकारीले बताए।

पछिल्लो समय बजारमा बैंकहरुले धेरै नाफा कमाए भन्ने गलत प्रचार भएको भन्दै राजनीतिक नेता लगायत सर्वसाधरण सबै त्यो भ्रमबाट बाहिर आउनुपर्ने बताए ।

गभर्नर अधिकारीले नाङ्गो आँखाले बाहिर देखे जस्तो बैंकहरुले नाफा नकमाएको दाबी गरे । बैंकहरुको अहिले नाफा ८.५ प्रतिशतभन्दा बढी नभएको भन्दै उनले नाफानिरन्तर घटेर गइरहेको उल्लेख गरे ।

‘बैंकहरुलाई कसरी हुन्छ हामीले बचाउनुपर्छ । तर ग्राहकलाई बचाउने काम बैंकहरुको हुन्छ,’ उनले भने, ‘बैंकहरुले धेरै नाफा कमाए भन्ने बाहिर गलत हल्ला भइरहेको छ । बैंकहरुको क्यापिटलको वेस ठूलो भएकाले अर्ब रुपैयाँ कमाउँदा पनि धेरै फिगरमा देखिएको हो । बैंकहरुको अहिले रिर्टन अन इकुटी ८.५ प्रतिशतभन्दा बढी छैन । निरन्तर घटेर गइरहेको छ ।’

नेपालका बैंकहरुलाई विश्वका अन्य देशहरुको भन्दा धेरै नियममा राष्ट्र बैंकले बाँधेको उनको दाबी छ ।

बैंकहरुले ४ प्रतिशत सम्मको सर्भिस चार्जलाई राष्ट्र बैंकले तोकेर बैंकहरुले ०.७५ र माइक्रो फाइनान्समा १.५ भन्दा बढी लिन नपाउने व्यवस्थाले पनि बैंकहरुको नाफा कम हुँदै गएको उनले उल्लेख गरे ।

पाँच वर्षअघि बैंकहरुको नाफा ६७ अर्ब रहेकोमा पछिल्लो समय वार्षिक रुपमा ६० अर्ब पनि पुग्न छाडेको उनले बताए ।

पाँच वर्षभन्दा अघि बैंकहरुको ३० खर्बको पोर्टफोलियो बढेर ५१ खर्ब पुग्दा नाफा बढ्नुपर्नेमा उल्टो रुपमा घट्दै गएको अधिकारीले बताए ।

बैंकहरुले आफूखुशी कमाइरहेका छन् भन्ने गलत भाष्य बनाउन खोजिकएको भन्दै उनले राष्ट्र बैंकले स्पेड दर तोकेको बताए ।

बैंकले निक्षेपकर्तालाई दिने र आफ्नो ऋणबाट लिने ब्याजको अन्तर ४ प्रतिशत भन्दा बढी हुनुनहुने व्यवस्था गत वर्षदेखि लागू गरेको बताए । बैंकहरु प्रति विश्वास रहेन भने मुलुकको अर्थतन्त्र नै अस्थिर हुने खतरा रहेको अधिकारीले बताए ।

बैंकमाथि विश्वास भएर सबै सम्पत्ति बैंकमा राखिएको भन्दै उनले बैंकिङ उद्योग कोल्याप्स भयो भने सबैको विश्वास लुज हुने बताए । बैंकहरुको क्यापिटलको वेस ठूलो भएकाले अर्ब रुपैयाँ कमाउँदा पनि धेरै फिगरमा देखिएको गभर्नर अधिकारीको भनाइ छ ।

‘बैंकहरुप्रति विश्वास रहेन भने मुलुकको अर्थतन्त्र नै अस्थिर हुन जान्छ । बैंकहरु माथि सर्वसाधरणको विश्वास कायम राख्न पनि बैंकहरु सुरक्षित,सवल हुनुपर्छ,’ अधिकारीले भने, ‘त्यसको लागि न्यूनतम बैंकहरुलाई नाफा हुनुपर्छ । बैंकहरुले निरन्तर कमाउनुपर्छ । कमाई कम हुनुहुँदैन ।’

गभर्नर अधिकारीले बैंकहरुले व्यवसायीहरुलाई कर्जाको किस्ताको रिस्टक्चरिङको तीन पटकसम्म सुविधा दिएको बताए । त्यो सुविधा हुँदाहुँदै पनि बैंकका ऋणहरुलाई जोगाउनको लागि राष्ट्र बैंकले पुनःसंरचना र पुनःतालिकीकरण बारम्बार दिएको उनको भनाइ छ । बैंकलाई सधैँभरी यस्तो सुविधा दिइराख्दा भविष्यमा अर्को खालको अफ्ठ्यारो आउने खतरा रहेको उनले बताए ।


क्लिकमान्डु