नर्सिङ क्षेत्रमा दरबन्दी बढाउन सरकार गम्भीर हुनुपर्छ’



काठमाडौं । नेपाल नर्सिङ सङ्घकी अध्यक्ष प्रा मनकुमारी राईले नर्सिङ क्षेत्रमा दरबन्दी बढाउन सरकार गम्भीर हुनुपर्ने बताएकी छन् । नेपाल नर्सिङ सङ्घको १४औँ राष्ट्रिय सम्मेलन तथा अन्तर्राष्ट्रिय नर्सिङ दिवसका अवसरमा आज यहाँ आयोजित कार्यक्रम उनले बिरामीको अनुपातमा नर्सहरूको दरबन्दी कम रहेको छ जानकारी दिइन् ।

उनले भनिन्- ‘दरबन्दी बढाउन सके नर्सहरूले जागिर पनि पाउने र बिरामीले गुणस्तरीय सेवा पनि पाउँछन् ।’

उनले नर्सहरूको सेवासुविधा न्यून रहेको भन्दै त्यसमा पनि सरकारको ध्यानाकर्षण जरुरी रहेको बताइन् । स्वास्थ्य सेवा विभाग, नर्सिङ तथा सामाजिक सुरक्षा महाशाखाकी निर्देशक हिराकुमारी निरौला अबको आउने दिनमा नर्सिङ लगानी गर्नुपर्ने बताउँदै भनिन्- ‘नर्सिङ जनशक्तिले विभिन्न सेक्टरहरुमा नर्सहरुले काम गरिरहेका छन् । विद्यालय नर्सका पनि व्यवस्था गरिएको छ । शारीरिक तथा मानसिक स्वास्थ्यको विकासका लागि पनि यो कार्यक्रम एकदमै लाभदायी साबित भएको छ ।’

त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थानकी सहायक डिन प्रा तक्मा केसीले नर्सहरुमा लगानी गर्दा देशको आर्थिक सामथ्र्यलाई पनि सहयोग पुग्नेमा जोड दिइन्। उनले भनिन्- ‘नर्समा लगानी आवश्यक छ । उनीहरुको शिक्षा, तालिम, रोजगारी, सेवासुविधामा सरकारले ध्यान दिनुपर्छ ।’

नेपाल चिकित्सक सङ्घका अध्यक्ष डा अनिलविक्रम कार्कीले प्रत्येक वर्ष स्वास्थ्यकर्मीहरु उत्पादन हुने तर उनीहरुको भविष्य अन्यौलतामा रहेको बताए । उनले भने- ‘जनशक्ति उत्पादन भइरहेका छन् तर कुन देशको भिषा लगाउने भन्ने सोच्न बाध्य हुन्छन् । स्वास्थ्यकर्मी त्यस्तो श्रमिक जसले मजदुर दिवसको पनि बिदा पाउँदैनन् । अहिलेसम्म दरबन्दी सिर्जना गर्न सकिएको छैन । यसमा सरकारले चासो दिनुपर्छ ।’

नेपाल नर्सिङ सङ्घका अनुसार देशभर हाल देशभर क्रियाशील नर्सहरुको सङ्ख्या ८२ हजार चार सय ७१ जना कार्यरत रहेका छन् जसमा विशेषज्ञ नर्स एक हजार पाँच सय सातजना छन् । सरकारी क्षेत्रमा १८ हजार र निजीमा १८ देखि २० हजार नर्स कार्यरत रहेको तथ्याङ्क छ । त्यसैगरी, रोजगारीविहीन नर्सहरुको २० हजार हाराहारीमा रहेको छ ।


रवि धिताल