रविसँग रिसाउँदै प्रचण्डले भने- जिबी राईलाई अघिल्लो सरकारले भगायो भनेर कुतर्क गर्न मिल्छ ?

सहकारी ठगीको आरोप लागेका गृहमन्त्री लामिछानेमाथि छानविन गर्न प्रधानमन्त्री सहमत



चितवन । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेसँग प्रधानमन्त्री प्रचण्ड रिसाएका छन् । रवि लामिछानेले चितवन पुगेर प्रधानमन्त्री प्रचण्ड र तत्कालीन गृहमन्त्री नारायणकाजी श्रेष्ठमाथि लगाएको आरोपको खण्डन गर्दै उनले यस्तो बेतुकको कुरा नगर्न आग्रह गरे ।

‘जीवि राईलाई सरकारले भगाएको भन्ने कुतर्क कसैले पनि गर्न हुँदैन, जीविलाई स्वदेश ल्याउनुपर्छ भन्नेमा सरकार प्रस्ट छ । राहदानीको विषयले केही समस्या भएको छ,’ आइतबार चितवनमा पत्रकारहरुसाग कुरा गर्दै प्रचण्डले भने– ‘अघिल्लो सरकारले, प्रधानमन्त्रीले वा गृहमन्त्रीले भगाएको भन्ने कुरा बेतुकको कुरा हो । यस्ता कुतर्क नगर्न म सबैलाई आग्रह गर्छु ।’

शनिबार मात्रै चितवन पुगेर उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले सुर्यदर्शन सहकारी ठगी प्रकरणका नाइके जिबी राईलाई यसअघिका गृहमन्त्री नारायणकाजी श्रेष्ठले भगाएको आरोप लगाएका थिए । सूर्यदर्शन लगायतका सहकारी ठगी प्रकरणमा लामिछानेसमेत जोडिएका छन् ।

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले लामिछानेमाथि छानविन गर्न संसदीय समिति गठन हुनुपर्ने माग गर्दै निरन्तर संसद् अवरोध गरिरहेको छ । कांग्रेस र प्रधानमन्त्रीबीच यस विषयमा बारम्बार छलफल भइरहेको छ । संसदीय छानविन समिति नबनाएसम्म कुनैपनि हालतमा संसद चल्न नदिने अडानबाट कांग्रेस पछि नहटेपछि प्रधानमन्त्री प्रचण्डले छानविन समिति बनाउन आफू लचिलो रहेको बताउँदै आएका छन् ।

तर, एमाले अध्यक्ष केपी ओली भने लामिछानेमाथि छानविन समिति गठन नहुने अडान राख्दै आएका छन् । जसकारण प्रचण्ड सरकार अफ्ठ्यारोमा परेको छ ।

‘छानविन समिति गठन गरौं भने सत्ता साझेदारको सहमति छैन, नगरौं भने प्रतिपक्षले नीति तथा कार्यक्रम र बजेट नै रोक्ने अवस्था आइसकेको छ,’ प्रधानमन्त्री निकट स्रोतले भन्यो, ‘प्रधानमन्त्री पनि छानविन समिति गठन गर्ने कांग्रेसको प्रस्तावमा लचिलो नै हुनुहुन्छ ।’

प्रधानमन्त्री प्रचण्डले चितवन पुगेर सोमबार साँझ वा मंगलबार बिहानसम्म संसदको गतिरोध अन्त्य हुने विश्वास दिलाए ।

‘संसद्को गतिरोध अन्त्य गर्ने विषयमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका शीर्षनेतासँग म संवादमा नै छु, भोलि बेलुकका अथवा पर्सि बिहानसम्म संसद्को गतिरोध अन्त्य हुन्छ,’ उनले भने- ‘आगामी जेठ १ मा राष्ट्रपतिले संसद्को दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्नुहुन्छ । यसको तयारी पूरा भइसकेको छ ।’

सरकारले नीति तथा कार्यक्रमलाई अन्तिम रुप दिइसकेको जनाउँदै उनले राष्ट्रपतिको सम्बोधनमा संसद्मा कुनै समस्या नहुने बताए ।

सहकारी पीडितको समस्या समाधानका सन्दर्भमा उनले भने,- ‘खासगरी गृहमन्त्रीले पनि समिति बनाउनेमा सैद्धान्तिक रुपमा विरोध गर्नुभएको छैन ।’

आज बिहान आफूले कांग्रेसका नेताहरुसँग पनि सदन खुलाउने कुरामा छलफल गरेको प्रधानमन्त्री दाहालको भनाइ छ । सामान्यतया सबै समस्याग्रस्त सहकारीका बारेमा अध्ययन गरेर प्रतिवेदन दिने कुरामा सहमति भयो भने त्यसका लागि कोसिस गर्ने कुरामा सकारात्मक छलफल भएको उनले बताए ।

फरक प्रसङ्गमा राष्ट्रिय सहमतिको वातावरण बनाउन आफूले जहिले पनि कोसिस गरेको उनको भनाइ छ । उनले भने- ‘अघिल्लो पटक समीकरण ‘ब्रेक’ हुनुमा कांग्रेसलाई राष्ट्रपति दिएर सबै प्रमुख दललाई प्रमुख सिट बनाऊँभन्दा बिग्रिएको हो । कांग्रेसले मलाई ‘नेगेटिभ’ सोच्नुपर्ने कारण छैन । मैले पनि कांग्रेसलाई ‘नेगेटिभ’ सोच्नुपर्ने छैन ।’


क्लिकमान्डु