राष्ट्रपतिका सल्लाहकार डा. नेपालले दिए राजीनामा



फाइल तस्बिर

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलका आर्थिकविज्ञ डा.चिरञ्जिवी नेपालले राजीनामा दिएका छन् । सय रुपैयाँको नोटमा चुच्चे नक्सा राख्ने सरकारको निर्णयको विषयमा अभिव्यक्ति दिँदा विवादमा तानिएका उनले राजीनामा दिएका हुन् ।

राष्ट्रपति कार्यालयकी प्रवक्ता शैलजा रेग्मी भट्टराईले आइतबार विज्ञप्ति जारी गर्दै डा नेपालले दिएको राजीनामा राष्ट्रपति रामचन्द्र पौडेलले स्वीकृत गरेको जानकारी दिइन् ।

‘सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेलज्यू समक्ष आर्थिकविज्ञ डा चिरञ्जिवी नेपालले दिनुभएको राजीनामा सम्माननीय राष्ट्रपतिज्यूले सम्वत् २०८१ वैशाख ३० गते स्वीकृत गर्नु भएको छ । साथै, सम्माननीय राष्ट्रपतिज्यूले डा. नेपालले आफ्नो पदमा रही पुर्‍याउनु भएको सेवाका लागि धन्यवाद समेत दिनुभएको छ’, विज्ञप्तिमा उल्लेख छ ।

१ सय रुपैयाँको नोटमा नयाँ नक्सा राख्ने सरकारको निर्णयको आलोचना गर्दै उनले एक अन्तर्वार्ता दिएका थिए । नोटमा चुच्चे नक्सा राखेर सरकारले भारतलाई चिढ्याउने कार्य गरेको आशयको अभिव्यक्ति उनले दिएका थिए ।

बिबाद भएपछि नेपालले आफूले पूर्वगभर्नर र अर्थशास्त्रीका हैसियतमा भनेको कुरालाई गलत आशयले प्रचार गरेको र राष्ट्रपति संस्थालाई अनावश्यक विवादमा ल्याइएको भन्दै वचाउ गरेका थिए ।

विज्ञ नेपालको अभिव्यक्तिलाई लिएर एमाले अध्यक्ष केपी ओलीले आलोचना गरेका थिए । यसको जवाफ राष्ट्रपतिले दिनु पर्ने उनको भनाइ छ ।


क्लिकमान्डु