औषधी बेच्ने यतिकेम डिष्ट्रिब्युटरले एकै वर्ष गर्‍यो पौने २ अर्बको व्यापार



काठमाडौं । औषधी बेच्ने यतिकेम डिष्ट्रिब्युटरले एकै वर्ष पौने २ अर्ब रुपैयाँको व्यापार गरेको छ । कम्पनीले सन् २०२३ मा १ अर्ब ७७ करोड ७२ लाख रुपैयाँको व्यापार गरेको हो ।

सन् २०२२ मा १ अर्ब ७३ करोड २८ लाख रुपैयाँ व्यापार गरेको कम्पनीले सन् २०२१ मा १ अर्ब ६० करोड १२ लाख रुपैयाँ, सन् २०२० मा १ अर्ब ४० करोड ३८ लाख रुपैयाँ र सन् २०१९ मा १ अर्ब ३८ करोड ७३ लाख रुपैयाँको व्यापार गरेको थियो ।

सन् २००१ मा स्थापना भएको कम्पनीले औषधीको व्यापार गर्दै आएको छ । कम्पनीले डाइबेटिज, क्यान्सर र टीभीसहित अन्य विभिन्न प्रकारका औषधी बिक्री वितरण गर्दै आएको छ । कम्पनीले विश्वका विभिन्न मुलुकबाट औषधी आयात गरेर नेपालमा बेच्दै आएको छ ।

प्रभुराज वैद्य र पृथ्वीराज वैद्यको ५०/५० प्रतिशत हिस्सा रहेको कम्पनीले ७५ करोड २६ लाख रुपैयाँ दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि रेटिङ गराएको छ ।

त्यस्तै, कम्पनीले ८ प्रतिशत नाफा कमाएको छ । कम्पनीको स्वदेशी तथा विदेशी औषधी उत्पादनकर्ता र सप्लायर्ससँग राम्रो सम्बन्ध छ । कम्पनीको देशभर नै डिलर छ ।

कम्पनीअनुसार सन् २०२३ मा गरेको व्यापारमध्ये ४४ प्रतिशत आम्दानी मुख्य १० ग्राहकबाट भएको उल्लेख छ । जसमा ४० प्रतिशत व्यापार टेन्डरमार्फत् भएको छ ।


क्लिकमान्डु