काठमाडौं महानगरले थप दुई अस्पतालको फोहोर संकलनमा लगायो रोक, फोहोर नउठाइने अस्पतालको संख्या १० पुग्यो



काठमाडौं । काठमाडौं महानगरपालिकाले थप दुई अस्पतालको फोहोर संकलनमा रोक लगाएको छ ।

महानगरले सोमबार वडा नम्बर १३ मा रहेको कालीमाटी चेस्ट अस्पताल र वडा नम्ब्र १२ को बुद्धमाई अस्पतालको फोहोर संकलनमा रोक लगाएको हो । महानगरले संक्रमित फोहोर निसंक्रमण नगरिएको कारण अस्पतालको फोहोर संकलनमा रोक लगाएको हो ।

थप दुई अस्पतालको फोहोर संकलनमा रोक लगाइएसँगै महानगरले फोहोर संकलनमा रोक लगाइएका अस्पतालको संख्या १० पुगेको छ । यसअघि महानगरले महाराजगञ्ज-बसुन्धरा-सामाखुशी क्षेत्रमा सञ्चालित चिरायु, विपी स्मृति अस्पताल, कान्तिपुर डेन्टल अस्पताल, चावहिलको ओम र दीर्घायु गुरु अस्पताल, कलंकीको सहिद मेमोरियल र नेपाल नेशनल अस्पताल, महाराजगञ्जको कान्ति बाल अस्पतालको फोहोर संकलनमा रोक लगाएको थियो ।

महानगरकी उपप्रमुख तथा अनुगमन समितिकी संयोजक सुनिता ढंगोलकाअनुसार अस्पतालहरुको फोहोर संकलनमा आफूहरुलाई रोक लगाउने चाहना नभएपनि अस्पतालमा देखिएको फोहोर व्यवस्थापनको गल्तीका कारण वातावरण र मानव स्वास्थ्यका क्षेत्रमा आउन सक्ने संकट र जोखिमलाई मध्यनजर गर्दै अस्पतालको फोहोर संकलनमा रोक लगाइएको हो । उनले भनिन्, ‘फोहोर रोक लगाइएका अस्पतालहरुलाई निर्देशनबमोजिम सुधार गर्न र अन्य अस्पतालहरुलाई प्रचलित मापदण्डबमोजिम काम गर्न आग्रह गर्दछु ।’


क्लिकमान्डु