माधब नेपाल भेट्न कोटेश्वर पुगे प्रचण्ड



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाललाई भेट्न कोटेश्वर पुगेका छन् ।

स्वास्थ्यमा समस्या देखिएपछि अध्यक्ष नेपाल घरमै आराम गरिरहेका छन् । नेपाललाई भेट्न प्रधानमन्त्री प्रचण्डसँगै निर्वतमान गृहमन्त्री नारायणकाजी श्रेष्ठ पनि कोटेश्वर पुगेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । प्रचण्ड र श्रेष्ठ नेपालको स्वास्थ्य अवस्थाबारे जानकारी लिनका लागि कोटेश्वर पुगेको सचिवालयले जनाएको छ ।

सोमबार सत्ता गठबन्धनमा परिवर्तन भएर नेकपा एमालेसँगै अन्य दलसँग गठबन्धन गरेका थिए । नेपाली कांग्रेससँगको गठबन्धन तोडेर प्रचण्डले एमालेलगायतका दलसँग नयाँ गठबन्धन गरि मन्त्री परिषद्लाई पुर्नगठन गर्दै तीन मन्त्रीहरु नियुक्त गरिएको थियो ।

यसैबीच माधव कुमार नेपालको पार्टी नेकपा एस सत्ता गठबन्धनमा सामेल हुने नहुने भन्ने विषयमा लामो समय छलफल भएको थियो । नेपालको अध्यक्षतामा बसेको पार्टीको केन्द्रिय सचिवालय बैठकले सरकारको उद्देश्य, प्रक्रिया र संरचना प्रस्ट भएपछि पार्टी सरकारमा सहभागी हुने वा नहुने विषयमा छलफल गर्ने निर्णय गरेको पार्टी कार्यालयका सचिव जीवनराम श्रेष्ठले बताएका थिए ।

यसअघिको सत्ता गठबन्धनमा कांग्रेस, माओवादी, नेकपा समाजवादी लगायतको सहमति अनुसार माधव नेपाल प्रधानमन्त्री बन्ने समझदारी भएको थियो । अब नयाँ गठबन्धनमा भने नेपालबारे के हुने भन्ने विषयमा निधो भएको छैन ।


क्लिकमान्डु