माओवादीबाट सरकारमा सहभागी हुँदै वर्षमान, अर्थमन्त्री बन्लान् ?



काठमाडौं । सत्ता गठबन्धनको समीकरण फेरिएसँगै प्रधानमन्त्री पुष्पकमल दाहालले मन्त्रिम‍ण्डल पुनर्गठनको तयारी गरेका छन् ।

नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी लगायतका दलहरुसँग नयाँ गठबन्धन गरेका प्रधानमन्त्री दहालले आजै सानो आकारको मन्त्रिपरिषद् बनाउने तयारी गरेका छन् ।

त्यसका लागि उनी अहिले राष्ट्रपति कार्यालय शीतलनिवास पुगेका छन् । स्रोतका अनु्सार आज प्रधानमन्त्रीले नयाँ गठबन्धनका दलहरुबाट पाँच जना सहभागी मन्त्रिपरिषद् विस्तार गर्दै छन् ।

एमालेबाट पदम गिरी, नेकपा माओवादीबाट वर्षमान पुन, हितमान तामाङ, रास्वपाबाट डीपी अर्याल लगायतलाई मन्त्री बनाउँदै छन् ।

माओवादी केन्द्रका सचिव देवेन्द्र पौडेलले नयाँ बन्ने मन्त्रिपरिषदमा वर्षमान पुनलाई पठाउने निर्णय भएको जानकारी दिए । अरुका बारेमा पछि छलफल हुने उनले जनाए ।

पुनले कुन मन्त्रालयको जिम्मेवारी पाउने भने टुंगो लागिसकेको छैन । तर, उनी अर्थमन्त्री बन्ने लगभग तय भएको माओवादी केन्द्र निकट स्रोतको भनाइ छ ।

बालुवाटार निकट स्रोतका अनुसार जसपाबाट अध्यक्ष उपेन्द्र यादव र रास्वपाबाट सभापति रवि लामिछाने आफैं सरकारमा जाने तयारीमा छन् ।

एकीकृत समाजवादीले भने नयाँ बनेको गठबन्धनबारे निर्णय गरेको छैन ।

प्रतिनिधि सभामा एमालेका ७९, माओवादी केन्द्रका ३२ र रास्वपाका २१ जना सांसद छन् । सरकार बनाउन तीन दल भए पुग्छ । सरकार निर्माणका लागि १३८ जना सांसद आवश्यक पर्छ । जनता समाजवादी पार्टीबाट प्रतिनिधि सभामा १२ सांसद छन् ।


क्लिकमान्डु