नयाँ सत्ता गठबन्धन: यी हुन् माओवादी पदाधिकारी बैठकका निर्णय



काठमाडौं । नेकपा (माओवादी केन्द्र) को पदाधिकारी बैठकले नयाँ सत्तारुढ गठबन्धन बनाउने निर्णय गरेको छ ।

सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको माओवादी केन्द्रको पदाधिकारी बैठकले वर्तमान सत्तारुढ गठबन्धनको अन्त्य गर्दै नयाँ गठबन्धन बनाएर अगाडि बढ्ने निर्णय गरेको हो ।

बैठकपछि न्युज एजेन्सी नेपालसँग कुराकानी गर्दै नेकपा(माओवादी केन्द्र)का सचिव देवेन्द्र पौडेलले देशको वामपन्थी आन्दोलनलाई नयाँ शिराबाट अगाडि बढाउँदै ध्रुवीकरणको दिशामा लैजानका लागि नयाँ गठबन्धन गर्न लागिएको बताए ।

शान्ति प्रक्रियालाई टुंग्याउने र सरकारको बजेट, नीति तथा कार्यक्रममार्फत सरकारको कामलाई नयाँपन दिनका लागि नयाँ गठबन्धन बनाउनु परेको बताए ।

‘पदाधिकारी बैठकमा नयाँ गठबन्धन बनाएर अगाडि बढ्ने । कयौँ चुनौती त छन् तर त्यसको बाबजुद पनि नेपालको वामपन्थी आन्दोलनलाई फेरी नयाँ शिराबाट अगाडी बढाउनको निम्ति सरकारको प्रशंगलाई जोड्दै वामपन्थीहरुको ध्रुवीकरणको दिशामा लैजाने उद्देश्यसहित नयाँ समीकरण बनाउने निर्णय भएको छ’ पौडेलले भने, ‘त्यसको औपचारिकता दिन त गठबन्धनको बैठक बसिराखेको छ । तर हामी नयाँ गठबन्धनतिर जाने, शान्ति प्रक्रिया टुंग्याउने, बजेट, नीति, कार्यक्रममार्फत जनताका डेलिभरीका कामहरुमा नयाँपन दिने । त्यसको साथसाथै धर्म निरपेक्षता, समावेशि, समानुपातिकजस्ता विषयहरुको बारेमा जो नेपाली कांग्रेसभित्र छलफल चल्यो त्यसले संविधान प्रतिकुल हुने प्रकारका संकेत देखिएको र कोशी प्रदेशमा देखिएका कतिपय परिघटनाहरुको पनि समिक्षा गर्दै नयाँ गठबन्धनमा जाने निर्णय हामीले गर्‍यौँ ।’

सचिव पौडेलले अर्थमन्त्री डा. प्रकाशशरण महतले प्रधानमन्त्रीलाई अपेक्षा गरे अनुरुप सहयोग नगरेका कारण पनि गठबन्धन फेर्ने निर्णय गर्नुपरेको बताए । त्यस्तै राष्ट्रिय सभा निर्वाचनमा कोशी प्रदेशमा माओवादी केन्द्रको उम्मेदवारलाई हराउनु, काँग्रेस महासमिति बैठकमा जनयुद्धलाई गलत ढंगले टिप्पणी गर्नु र हिन्दु राष्ट्रको पक्षमा वकालत गर्नुले पनि काँग्रेस–माओवादी गठबन्धन टुट्न सहयोग पुगेको उनको भनाइ छ ।

‘कोशी प्रदेशमा भनेजस्तो भएन । उहाँहरुले त्यसलाई महशुस गर्नेतिर जानुभएन । सरकारलाई प्रभावकारी बनाउने कुरामा पनि अर्थमन्त्रालयले जसरी प्रधानमन्त्रीलाई सहयोग गर्नुपथ्र्यो, डेलिभरी दिने कुरामा अर्थमा गएर धेरैकुरा अल्झियो । त्यो पनि दोस्रो कारण बन्यो । तेस्रो कारण भनेको काँग्रेसको महासमितिको बैठकले जनयुद्धलाई गलत प्रकारले टिप्पणी गरिदियो । त्यो कारणले नेपालमा विकास भएन । त्यो हिंसा थियो भन्ने आशयको उहाँहरुले प्रतिवेदन पारित गरेर आउनुभयो । महाधिवेशनमा उहाँहरुले हिन्दु राज्य चाहिन्छ भन्ने कुरामा बहुसंख्यकले हस्ताक्षर गरेर दिनुभयो । त्यसले राजनीतिक वैचारिक रुपमा हामीलाई अर्को पक्षसँग मिल्नका लागि प्रेरित गर्‍यो’ उनले भने ।

उनले नयाँ सत्ता गठबन्धनमा राष्ट्रिय प्रजातन्त्र पार्टीलाई भने नसमेट्ने स्पष्ट पारे । गठबन्धनमा राप्रपालाई ल्याउनु प्रतिगमनकारी हुने भएकाले राप्रपालाई गठबन्धनमा नसमेट्ने उनले जानकारी दिए ।

‘राप्रपा आउने सम्भावना छैन । हामीले प्रष्ट रुपमा भन्यौँ काँग्रेस छोड्नु र राप्रपा ल्याउनु झन प्रतिगमनकारी हुन्छ । राप्रपासँग कतिपय अरु गणितिय प्रशंग त चल्ला । पार्टी भएपछि हामीले नकारात्मक रुपमा राख्ने कुरा त भएन । तर यो प्रणालीकै विपक्षमा उहाँहरु हुनुहुन्छ । त्यसकारण सरकार बनाउने कुरा उहाँहरुसँग मिलेर नजाने भन्ने कुरा प्रष्टै भनेका छौँ’ उनले भने ।

उनले माधवकुमार नेपाल नेतृत्वको नेकपा(एकीकृत समाजवादी)लाई भने गठबन्धनमा ल्याउन प्रयास भइरहेको बताए ।


क्लिकमान्डु