पेटिएम पेमेन्ट्स बैंकमाथि साढे पाँच करोडको जरिवाना, सम्पत्ति शुद्धिकरणको विषयमा पनि कारबाही



एजेन्सी । भारतको पेटिएम पेमेन्ट्स बैंकमाथि साढे पाँच करोडको जरिवाना भएको छ ।

फिनटेक (फाइनेन्स एन्ड टेक)को क्षेत्रमा निकै सफल मानिएको कम्पनीलाई भारतको फाइनेन्सियल इन्टिलिजेन्स युनिटले ५।४९ करोड भारतीय रुपैयाँ जरिवाना गरेको हो । उक्त निकायले यो जरिवाना भारतको सम्पत्ति शुद्धिकरणको कानुनको उल्लंघन गरेको भन्दै कारबाही गरेको छ ।

पेटिएमको सफलतासँगै सन् २०१७ मा पेटिएम पेमेन्ट्स बैंकको सुरुवात भएको थियो । भारतीय फिनटेक कम्पनी पेटिएमका संस्थापक विजय शेखर शर्माको ५१ प्रतिशत लगानीमा पेटिएम पेमेन्ट्स बैंकको सुरुवात भएको थियो ।

तर, पछिल्लो समय पेटिएम पेमेन्ट्स बैंकलाई पटक पटक नियममा बस्न भन्दा पनि नमानेको भन्दै भारतीय रिजर्भ बैंकका साथै अन्य निकायहरुले पनि कारबाही गरिरहेका छन् । आरबिआईले पेटिएमलाई यसअघि फेब्रुअरीको अन्त्यसम्म मात्र सञ्चालन हुन पाउने र त्यसपछि सञ्चालन गर्न नपाउने भन्दै पेटिएम पेमेन्ट्स बै।कलाई कारबाही गरेकोमा यो अवधिलाई बढाएर मार्च १५ पुर्याएको छ ।

यसबिच पेटिएम पेमेन्ट्स बैंकमाथि सम्पत्ति शुद्धिकरणको विषय पनि जोडिएको छ । कम्पनीमाथि अनलाईन जुवासहित अन्य अवैध गतिविधिहरुमा पनि संलग्न भएको समेत आशंका गरिएको छ ।


क्लिकमान्डु