महानगरकै क्यान्टिनमा बासी खाना, ५० हजार जरिवाना



काठमाडौं । काठमाडौं महानगरपालिकाको आफ्नै कार्यालयमा सञ्चालनमा रहेको क्यान्टिनमा बासी खाना पाइएपछि ५० हजार जरिवाना गरिएको छ ।

महानगरको क्यान्टिन नारायणी चमेना गृहलाई महानगरले ५० हजार रुपैयाँ जरिवाना तिराएको हो । महानगरका निरीक्षण अधिकृत तथा कृषि तथा पशुपन्छी विभागका प्रमुख डा. अवधेश झाकाअनुसार क्यान्टिनको खानाको विषयमा गुनासाहरु आएको र अनुगमन गर्दा पकौडा तथा खाना बासी खुवाउने गरेको पाइएकाले जरिवाना तिराइएको हो ।

उक्त क्यान्टिनको विषयमा मूल्यअनुसारको मात्रा उपलब्ध नगराएको, स्वच्छ खाना नभएकोजस्ता गुनासाहरु आएका थिए । झाकाअनुसार क्यान्टिनलाई विगतमा पनि यो विषयमा सचेत गराइएको थियो । यसलाई अटेर गरेपछि कारबाही गरिएको उनले जनाए । उनले भने, ‘हामीले नमुना परीक्षणका खानेकुरा मागेका थियौं । सञ्चालनले खानेकुरा दिन मानेका थिएनन् ।’

अनुगमनपछि जरिवानासँगै उक्त क्यान्टिनलाई खाना बनाउन प्रयोग गरिने तेल बढिमा ४ पटकभन्दा धेरै प्रयोग नगर्न, ताजा र स्वच्छ खानेकुरा उपलब्ध गराउन तथा बासी खानेकुरा नखुवाउन निर्देशन दिइएको झाले जनाएका छन् ।


क्लिकमान्डु