नेपाली युवा अर्थशास्त्री हङकङमा हुने अन्तर्राष्ट्रिय ओलम्पियाडमा सहभागी हुने



काठमाडौं । राष्ट्रिय इकोनमिक्स ओलम्पियाड प्रतियोगिताको पाँचौं संस्करणमा चितवनको वाल्मीकि शिक्षा सदनका प्रसिद्ध अधिकारी, युनिग्लोब सेकेन्डरी स्कुलकी दीक्षा खिउजु, रातो बंगला स्कुलका सन्दीप आचार्य, बुढानीलकण्ठ स्कुलका प्रज्ञान शर्मा र युलेक्स स्कुलका प्रभात शाक्यले स्वर्ण पदक जितेका छन् ।

यो सँगै उनीहरू हङकङमा आयोजना हुने अन्तर्राष्ट्रिय इकोनमिक्स ओलम्पियाड (आईईओ) का लागि योग्य भई बन्द प्रशिक्षणमा सहभागी हुने भएका छन् ।

फागुन ५ देखि ७ मा चलेको राष्ट्रियस्तरको प्रतियोगितामा सातै प्रदेशका ४० स्कुल तथा कलेजका १ हजार ४३६ विद्यार्थीले आवेदन दिएका थिए । तीमध्ये उत्कृष्ट ८० मा पर्ने विद्यार्थीहरूमाझ काठमाडौंको एपेक्स कलेजमा अन्तिम चरणको तीनदिने प्रतियोगिता आयोजना भएको थियो ।

उनीहरूमध्ये १० जनालाई बन्दसत्रमा छनोट गरी त्यसमध्ये ५ जनालाई जुलाईमा हङकङमा हुने अन्तर्राष्ट्रिय ओलम्पियाडमा सहभागी हुन पठाउने आयोजक योङ इकोनमिक्स सोसाइटी नेपालले जानकारी दिएको छ ।

सन् २०१९अन्तर्राष्ट्रिय इकोनोमिक्स ओलम्पियाडमा देखि भाग लिन थालेको नेपालले हालसम्मका सबै प्रतिस्पर्धाहरुमा पदक जित्न सफल रहेको छ ।

नेपाल इकोनोमिक्स ओलम्पियाड, इन्टरनेसनल इकोनोमिक ओलम्पियाडको नेपाल प्रतिनिधि हो । इन्टरनेसनल इकोनोमिक ओलम्पियाड उच्च शिक्षा अध्ययनरत विद्यार्थीहरुका लागि अर्थशास्त्रसँग सम्बन्धित विषयमा प्रतिस्पर्धा गराउने अभियान हो ।

अर्थशास्त्रसम्बन्धी आफ्ना नयाँ सोच तथा सिद्धान्तहरुलाई प्रतिष्ठित शैक्षिक संस्थामा प्रस्तुत गर्ने मौका पाउने नेपाल इकोनोमिक्स ओलम्पियाडका अध्यक्ष अर्जुन सापकोटा बताए ।


क्लिकमान्डु