मौरी पालेर वार्षिक आठ लाख कमाउछन् केसी



दाङ । तुलसीपुर उपमहानगरपालिका-१० गोलौरीका ४८ वर्षीय माधव केसी व्यावसायिक रुपमा उन्नत जातका माहुरीपालन गरेर सफल माहुरी उद्यमीको रुपमा स्थापित भएका छन् ।

विगत डेढ दशकदेखि सो पेसा अँगालेका केसीले तीनजनालाई पूर्णरुपमा र दुई जनालाई आंशिकरुपमा रोजगारी दिएका छन् । माहुरीपालनबाट वार्षिक आठ लाख बचत गर्न सफल भएको उनले बताए । सफल व्यावसायिक माहुरी पालकरुपमा परिचित केसीको दिनचर्या माहुरीका घारलाई स्याहार तथा संरक्षण, चरण र मह काड्नेदेखि बजार व्यवस्थापन हुने गर्दछ ।

आजभोलि महको सिजन भएकाले उनी माहुरी कर्ममा व्यस्त छन् । कृषि क्षेत्रमा राम्रो सम्भावना देखेरै बिएसीएजीको अध्ययन पूरा गरेपछि विसं २०६२ देखि प्राकृतिक मौरीपालन फार्म खोलेर उन्नत जातको माहुरीपालन सुरुआत गरेको उनले बताए । सुरुमा २५ घार मौरीबाट व्यवसाय सुरु गरेका केसीसँग हाल तीनसय घार मेलीफेरा जातका माहुरी छन् । उनले यस वर्ष १२ टन मह उत्पादन गरी सकेको अझ उत्पादन बढ्ने बताउँछन् ।

माहुरीपालन व्यवसायमा सन्तुष्ट भए पनि महको बजार व्यवस्थापनमा समस्या भएको उनको भनाइ छ । ‘तोरी चरणबाट उत्पादन हुने मह फुट्करमा प्रतिकिलो पाँच सय र जङ्गमा चरणबाट उत्पादन भएको मह प्रतिकिलो आठ सयसम्म बिक्री गर्ने गरेको छु’, उनले भने ।

बुधबार माहुरी फार्ममा मह किन्नका लागि आएका तुलसीपुर उपमहानगरपालिका–६ का २५ वर्षीय श्याम चौधरीले आफ्नै घरआँगनमा शुद्ध मह खान पाइएको बताए । ‘महमा औषधीजन्य गुण पनि हुन्छ । जाडोमा पनि महको सेवन राम्रो मानिन्छ’, उनले भने ।

केसीले फार्ममा हालसम्म एक करोड रुपैयाँ सम्मसम्म लगानी गरिसकेका छन् । उनले माहुरीका घार र मह बिक्रीबाट वार्षिक २२ देखि २५ लाखसम्म आम्दानी गर्नेछन् । सबै खर्च कटाएर वार्षिक सातदेखि आठ लाख बचत हुने गरेको केसीले बताए ।

उनी माहुरी चरणका लागि कैलालीसम्म पुग्छन् । माहुरी जोन कार्यक्रमले माहुरी र माहुरीका घार ५० प्रतिशत अनुदानमा प्राप्त भए पनि महले बजार पाउन नसक्दा समस्या भएको उनको भनाइ छ । बालीनालीमा बढ्दो विषादीको प्रयोग तथा जङ्गल निकुञ्जमा परिणत हुँदा माहुरी चरणका लागि समस्या हुने गरेको केसीको अनुभव छ । उनी भन्छन्,’सरकारले पहिलो प्राथमिकता माहुरी पालक किसानले उत्पादन गरेको महलाई खपतका लागि बजारीकरण गरिदिनुपर्छ ।’

हाल उनको फार्ममा माहुरीपालनका बारेमा जानकारी लिन, घार अवलोकनका लागि पनि मानिसहरु आउने गरेका छन् । नेपालमा विभिन्न देशबाट मह आयात हुने र नेपालको महभन्दा ती ठाउँबाट आयातित मह व्यापारीले सस्तो मूल्यमा बिक्री गर्दा आफूहरुले उत्पादन गरेको महले उचित मूल्य र बजार नपाएको केसीले दुखेसो पोखे ।


क्लिकमान्डु