यातायात मन्त्रीको गाडीमा कसले लगायो आगो ?



काठमाडौं । बिहीबार देखि सुरु भएको नेकपा (एकीकृत समाजवादी) को सातौँ केन्द्रीय कमिटी बैठक शुक्रबार पनि जारी थियो।

आगामी माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचनमा पार्टीकातर्फबाट उम्मेदवार चयन गर्नेलगायत विषयमा निर्णय गर्न भन्दै आज पनि पार्टीका बैठक बोलाइएको थियो ।

बैठकमा भाग लिन भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला बैठक स्थल कान्तिपुर गार्डेनमा पुगे ।

बिहान १० बजेबाट सुरु भएको बैठकमा मन्त्री ज्वाला केही ढिला पुगेका थिए । मन्त्रीलाई पार्टीको बैठकमा छोडेर उनी चढने बा २ झ ५८६१ मा गाडी ग्वार्कोबाट कोटेश्वर हुँदै मन्त्रालयतर्फ गइरहेको थियो ।

ग्वार्को हुँदै जब गाडी बालकुमारी पुल कट्यो तब सडकको एक छेउबाट गुडिरहेको गाडी रोकियो । गाडीलाई केही युवाहरुले घेरे । नजिक सुरक्षा निकायका अधिकारहरु थिएनन् ।

रोजगार अनुमति प्रणाली (ईपीएस)को विषयलाई लिएर प्रदर्शनमा उत्रिएका युवाले गाडीमा एकाएक आगो लगाइदिए । मन्त्री ज्वाला भने अहिले पार्टीको बैठकमा नै छन्।

ईपीएसको कोरियन भाषामा सिप बिल्डिङमा आवेदन दिएका युवाले उत्पादनमूलक क्षेत्रमा फाराम भर्न नपाउने भएपछि आन्दोलित छन् ।

ईपीएस शाखा कार्यालयले सूचना जारी गर्दै सिप बिल्डिङमा आवेदन दिई परीक्षामा सामेल भएर अनुत्तीर्ण परीक्षार्थीले उत्पादनमूलक क्षेत्रमा फाराम भर्न नपाउने बताएपछि केही युवाले पाटन उच्च अदालतमा मुद्दा हालेका थिए ।

ईपीएस कार्यालयको निर्णयविरुद्ध रिट दायर भएपछि अदालतले आवेदन दिन आदेश दिएको थियो । तर, रिट दायर गर्ने १८ जनाले मात्र आवेदन दिन पाउने गरी आदेश भएपछि अन्य युवा आन्दोलनमा उत्रिएका हुन् ।

(मन्त्री ज्वालाका सञ्चार सहयोगी जीवन बिसीसँग कुराकानीमा आधारित)


क्लिकमान्डु