डेडिकेटेड र ट्रंकलाइन विवाद: देउवा र ओलीसँग उद्योगीको भेटवार्ता



काठमाडौं । उद्योगी व्यवसायीहरुले डेडिकेटेड र ट्रंकलाइन विवादका विषयमा पूर्वप्रधानमन्त्रीद्वयसँग छलफल गरेका छन् ।

नेपाल उद्योग परिसंघसहित प्रभावित उद्योगी व्यवसायीहरुले पूर्वप्रधानमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीको ध्यानाकर्षण गराएका छन् ।

परिसंघ उपाध्यक्ष अमित मोरसहितका उद्योगीहरुले राजनीतिक दलका नेतृत्वको ध्यानाकर्षण गराएका हुन् ।

मंगलबार एमाले अध्यक्ष ओलीसँग भेटघाट गरेका उद्योगीले बुधबार बिहान कांग्रेस सभापति देउवासँग भेटभाट गरेका हुन् ।

भेटमा कांग्रेस सभापति देउवा र एमाले अध्यक्ष ओलीले कानुनी व्यवस्थाअनुरुप विवाद समाधान हुनुपर्ने बताए ।

‘कानुनी व्यवस्था अनुरुप हुनुपर्छ, सबैले कानूनको पालना गर्नुपर्छ । यो विवाद बढाउने नभई समाधान गर्नेतर्फ आफूहरुले पनि सरकारको ध्यानाकर्षण गराउने’ आश्वासन नेताहरुले दिएको भेटमा सहभागी उद्योगीले बताए ।


क्लिकमान्डु