बैंकको ऋण नतिर्ने बृन्दावन नगरपालिका प्रमुख विनोद कुर्मी कालोसूचीमा, माधव नेपालका कार्यकर्ता



काठमाडौं । रौतहट जिल्लाको बृन्दावन नगरपालिकाका प्रमुख विनोद प्रसाद कुर्मीले बैंकबाट लिएको ऋण नतिरेपछि कालो सूचीमा परेका छन् ।

कामना सेवा विकास बैंकबाट लिएको कर्जा समयमा नतिरेपछि उनी मंसिर १९ गते कालो सूचीमा परेका हुन् ।
एकीकृत समाजवादीबाट नगर प्रमुखमा निर्वाचित भएका कुर्मीले करिब ३ वर्षअघि कामना सेवा विकास बैंकबाट करिब १ करोड रुपैयाँ ऋण व्यक्तिगत प्रयोजनका लागि लिएका थिए ।

३ वर्षअघि ऋण लिएका कुर्मीले दुई वर्षसम्म किस्ता तिरेको भए पनि पछिल्लो एक वर्षपछि ऋणको किस्ता तिर्न छोडेको बैंकले जनाएको छ ।

उनले अहिले बैंकबाट लिएको ऋणको किस्ता बुझाउ भन्दा पनि राजनीतिक पहुँचका आधारमा ऋण मिलाउनतर्फ लागेका छन्। उनलाई बैंकले पटक-पटक ताकेता गर्दा पनि किस्ता नतिरेपछि बैंकले कालो सूचीमा राखेको जनाएको छ ।

प्रमुख कुर्मीले आफू कालोसूचीमा परेको जानकारी नभएको बताए ।

‘बैंकसँग कारोबार भएको हो, तर कालोसूची बारे जानकारी छैन’ कुर्मीले क्लिकमान्डुसँग भने, ‘के रहेछ म बैंकसँग कुरा गरेर तपाईंलाई जानकारी गराउँछु ।’

बैंकको ऋण नतिरेर कालोसूचीमा परेका नगरपालिका प्रमुख माधवकुमार नेपालका कार्यकर्ता हुन् । एमालेमा रहँदैदेखि माधव नेपालका कार्यकर्ता रहेका कुर्मी अहिले उनै नेपाल अध्यक्ष रहेको नेकपा एकीकृत समाजवादीका कार्यकर्ता हुन् ।

बैंकको ऋण नतिरेर कालोसूचीमा परेको कुनै पनि निर्वाचनमा उम्मेद्वार हुन समेत अयोग्य ठहरिने व्यवस्था संविधानमै छ । निर्वाचित भएपछि कालोसूचीमा पर्दा भने कसरी पदमा बसिरहन मिल्छ ?


क्लिकमान्डु