अर्थले कर्मचारी थप्न नदिएको कुलमानको गुनासो, युवाशक्ति विदेशिएको बेला ४ हजार इन्जिनियरको दरबन्दी खाली



काठमाडौं । अर्थ मन्त्रालयले कर्मचारी थप गर्न नदिएको नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले गुनासो गरेका छन् । प्राधिकरणले ४ हजार इलेक्ट्रिक इञ्जिनियर थप गर्न अर्थ मन्त्रालयसँग एक वर्षअगाडि मागे पनि अहिलेसम्म सहमति नपाएको उनको गुनासो छ ।

अर्थले सहमति नदिँदा प्राधिकरणले कर्मचारी थप गर्न नपाएको गुनासो घिसिङले ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री शक्तिबहादुर बस्नेतसँग गुनासो गरेका हुन् ।

‘कर्मचारी भर्नाका लागि अर्थ मन्त्रालयमा स्वीकृतिका लागि पठाएको लामो समयसम्म पनि अनुमति पाइएको छैन । प्राधिकरणलाई करिब ४ हजार इलेक्ट्रिकल इञ्जिनियर आवश्यक रहेको भएपनि अनुमति नपाउँदा भर्ना गर्न सकिएको छैन,’ घिसिङले ऊर्जामन्त्री बस्नेतसँग भने ‘देशमा बेरोजगार अवस्थामा रहेका इञ्जिनियरलाई काम दिन्छु भन्दा पनि अनुमति नपाएर बस्नु परेको छ । तत्काल त्यसका लागि सहजीकरण गरिदिन आग्रह गर्छु ।’

प्राधिकरणका प्रवक्ता सुरेशबहादुर भट्टराईले अर्थ मन्त्रालयको सहमतिका लागि पठाएको फाइल स्वीकृत नभएको कारण नयाँ जनशक्ति थप्ने विषय पनि अगाडि नबढेको बताए । एक वर्ष अगाडि पठाएकै फाइल स्वीकृत भएर आएको छैन भने फेरि नयाँ जनशक्ति खाली हुँदै गरेको ठाउँमा नियुक्ति गर्न नसकिएको पनि प्रवक्ता भट्टराईले बताए ।


क्लिकमान्डु