काठमाडौं र ललितपुर महानगरको विकास सँगसँगै हुनुपर्छ: बालेन



काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह काठमाडौं उपत्यकालाई सुन्दर र व्यवस्थित बनाउन तीनै तहका सरकारबीच सहकार्य हुन आवश्यक रहेको बताएका छन् ।

सोमबार ललितपुर महानगरपालिकाको १५ औं वार्षिक उत्सवलाई सम्बोधन गर्दै उनले सबै तहका सरकारबीच सहकार्यमा मात्र उपत्यकालाई व्यवस्थित बनाउन सकिने बताए ।

शाहले सम्पूर्ण उपत्यकाको विकास एकैचोटी हुनुपर्ने र त्यसका लागि केही वाधा अड्चनहरु संघीय सरकारले समाधान गर्नु पर्ने बताए ।

काठमाडौं र ललितपुर सम्बन्ध भएका महानगरपालिकाहरु भएको भन्दै उनले दुबै महानगरपालिकाको विकास सँगसँगै हुनुपर्ने बताए । काठमाडौं वा ललितपुर एक्लै बनेर उपत्यका राम्रो नदेखिने उनको भनाइ छ ।

‘काठमाडौं एक्लै बनेर पनि राम्रो देखिँदैन, ललितपुर एक्लै बनेर पनि राम्रो देखिँदैन । सबैलाई काठमाडौं एउटै हो भन्ने लाग्छ । ललितपुरमा आए पनि काठमाडौं आएजस्तो लाग्छ, काठमाडौं आए पनि ललितपुर आएजस्तो लाग्छ,’ मेयर शाहले भने, ‘ त्यसैले सम्पूर्ण उपत्यकाको विकास एकैचोटी हुनुपर्छ । कोही पहिलो, कोही दोस्रो, कोही तेस्रो भन्दा पनि हामी एकैचोटी अगाडि बढ्नुपर्ने देखिन्छ ।’

शाहले उपत्यकाको फोहोर व्यवस्थापनका लागि संघ सरकारले सहजीकरण गरिदिनुपर्ने उनले बताए । उपत्यकाको फोहोर व्यवस्थापन पाँच वर्ष वा ५० वर्षका लागि मात्र नभई दीर्घकालीन होस् भन्ने चाहना आफूहरुको भएको र त्यसका लागि कानुनी बाधा फुकाइदिनु पर्ने उनको भनाइ छ ।

‘फोहोर व्यवस्थापन सिसडोल बन्चरे डाँडामा व्यवस्थापन गर्दै आएका छौं । त्यो कुरा स्थानीय सरकार आफैंले गर्न सक्ने कुरामा बाधा अड्चन परेको छ । त्यो कानुनी बाधा अड्चन फुकाइदिनु हुन प्रधानमन्त्रीलाई यहीँबाट आग्रह पनि गरें, अनुरोध पनि गरें’ उनले भने ।


क्लिकमान्डु