त्रिभुवन विश्वविद्यालयको दीक्षान्त समारोह आज, काठमाडौं आइपुगे गिनिज बुकका प्रतिनिधि



काठमाडौं । त्रिभुवन विश्वविद्यालयको ४९औँ दीक्षान्त समारोह आज हुँदैछ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा बिहान ११ बजेदेखि उक्त समारोह सुरु हुनेछ ।

समारोहको सबै तयारी पूरा भइसकेको त्रिविका सूचना अधिकारी योगेन्द्र ढकालले जानकारी दिए । समारोहमा प्रमुख अतिथिका रुपमा राष्ट्रपति रामचन्द्र पौडेल सहभागी हुने उनले बताए । यस्तै त्रिविका कुलपति एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पनि सहभागी हुनेछन् ।

त्रिवि परीक्षा नियन्त्रणा कार्यालयका परीक्षा नियन्त्रक पुष्पराज जोशीका अनुसार यस वर्ष १२ हजार चार सय १५ विद्यार्थी दीक्षान्त समारोहमा सहभागी हुने छन् ।

त्रिवि ग्रेसलिष्टमा परेका ७४ हजार सात सय ४९ विद्यार्थीमध्ये यसपटक १२ हजार चार सय १५ जनाले दीक्षान्त समारोहमा सहभागिताका लागि आवेदन दिएका थिए । विसं २०७९ असार १ देखि २०८० जेठ मसान्तसम्म उत्तीर्ण गरेका विद्यार्थी दीक्षान्त समारोहमा सहभागी हुन पाउने उनले बताए ।

स्नातक तहतर्फ आठ हजार ९८ जना, स्नातकोत्तर तहतर्फ चार हजार एक सय चार, एमफिलतर्फ ४४ तथा विद्यावारिधीतर्फ एक सय १२ विद्यार्थी आज दीक्षित हुँने बताइएको छ । दीक्षान्त समारोहमा विभिन्न पदक र पुरस्कारसमेत वितरण गरिने छ ।

यसैबीच त्रिविले विश्वमा नै धेरै विद्यार्थी दीक्षित गर्ने दाबी गर्दै ‘गिनीज बुक अफ वर्ल्ड रेकर्ड’ आवेदन दिएको छ । त्यसका लागि ‘गिनीज बुक अफ वर्ल्ड रेकर्ड’का प्रतिनिधिहरू काठमाडौं आइपुगेका छन् । गिनीज बुकका प्रतिनिधिहरु सोमबार रंगशालामा आयोजना हुने दीक्षान्त समारोहमा उपस्थित हुने त्रिविले जनाएको छ ।


क्लिकमान्डु