क्यानडाको पेन्सन योजनामा रहेको वित्तलाई नेपालमा परिचालन गर्न सकिन्छ: राजदूत म्याके



काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालसँग नेपालका लागि क्यानाडाका गैरआवासीय राजदूत क्यामेरोन डिन म्याकेले शिष्टाचार भेट गरेका छन् ।

मन्त्रालयमा आज भएको भेटमा उनीहरूबीच नेपाल र क्यानडाबीच द्विपक्षीय मैत्रीपूर्ण सम्बन्धका विविध विषयमा छलफल भयो।

भेटमा मन्त्री रिजालले पाँच दशक लामो दुईपक्षीय कूटनीतिक सम्बन्ध सौहार्दपूर्ण रहेको बताउँदै हुँदै क्यानडाबाट नेपालमा गैरसरकारी संस्था मार्फत कृषि, शिक्षा, स्वास्थ्य लगायतका क्षेत्रमा विकास सहायता प्राप्त भइरहेको जानकारी गराए । त्यसैगरी, मन्त्री रिजालले क्यानेडाली विकास सहायता परिचालनमा नेपाललाई थप प्राथमिकता प्राप्त हुने अपेक्षा रहेको समेत स्पष्ट गरे ।

क्यानडा नेपालको प्रमुख व्यापार साझेदारको रुपमा रहेको समेत स्मरण गराउँदै मन्त्री रिजालले क्यानडाले नेपाल लगायतका विकासशील तथा अति कम विकसित मुलुकलाई सामान्य ग्राह्यता प्रणालीमार्फत सहुलियतपूर्ण बजार पहुँचको सुविधा प्रदान गर्दै आएको बताए ।

नेपालको अल्पविकसित मुलुकबाट स्तरोन्नति पश्चात समेत अति कम विकसित मुलुकलाई प्राप्त हुने सुविधाको निरन्तरताको अवधि थप गरिदिन मन्त्री रिजालले अनुरोध समेत गरे ।

त्यसैगरी नेपाललाई प्राप्त सहुलियतपूर्ण बजार पहुँचको बावजूद क्यानडातर्फको निर्यातको आकार उल्लेख्य बढ्न नसकेको सन्दर्भमा नेपाली उत्पादक तथा निर्यातकर्ताको क्षमता अभिवृद्धि तथा व्यापारमा रहेका अवरोधको पहिचान र समाधान गर्न दुई मुलुकबीच सरकारी तहका अतिरिक्त निजी क्षेत्रबीच समेत निरन्तर सहकार्य अपरिहार्य देखिएको मन्त्री रिजालले उल्लेख गरे ।

नेपालमा क्यानेडाली लगानीकर्ताका लागि सूचना प्रविधि, जलविद्युत, कृषिमा आधारित उद्योग जस्ता क्षेत्रमा लगानीका पर्याप्त अवसर तथा सम्भावना रहेको बताउँदै मन्त्री रिजाल्लले आगामी वर्षको अप्रिलमा नेपालमा लगानी सम्मेलन समेत आयोजना हुन लागेको जानकारी गराए ।

नेपालमा क्यानेडाली लगानीको विस्तार र प्रवर्द्धनमा क्यानेडाली सरकारको महत्वपूर्ण भूमिकाको अपेक्षा रहेको मन्त्री रिजालले स्पष्ट गरे ।

भेटमा राजदूत म्याकेले अति कम विकसित मुलुकबाट विकासशील मुलुकमा हुने स्तरोन्नति पश्चात समेत नेपालले हाल प्राप्त गरिरहेको सहुलियतपूर्ण बजार पहुँचलाई थप केही वर्षसम्म निरन्तरता दिने विषय महत्वपूर्ण रहेको बताए । यस बिषयलाई नेपाल र क्यानडाबीचको द्विपक्षीय परामर्श संयन्त्रको आगामी बैठकको प्रमुख एजेण्डाको रुपमा राख्न राजदूत म्याकेले सुझाव दिए ।

यसैगरी, नेपालमा क्यानेडाली लगानीको विस्तार र प्रवर्द्धन गर्न क्यानडामा पेन्सन योजनामा रहेको वित्तलाई सार्वजनिक निजी साझेदारीको अवधारणा मार्फत परिचालन गर्न सकिने प्रचुर सम्भावना रहेको राजदूत म्याकेको भनाइ छ ।


क्लिकमान्डु