सबैभन्दा महँगो युनिलिभरको एक कित्ता सेयरको मूल्य ४४ हजार नाघ्यो, एकैदिन बढ्यो २७ सय



काठमाडौं । सेयर बजारमा देखिएको उछालको प्रभाव युनिलिभर नेपालको मूल्यमा पनि परेको छ । एकैदिन कम्पनीको सेयर मूल्य २७ सय रुपैयाँले बढेर ४२ हजार ९०० रुपैयाँ पुगेको छ । आज (आइतबार) कम्पनीको सेयर मूल्य ६.७२ प्रतिशतले बढेको हो ।

आज कम्पनीको सेयर ५१ पटक कारोबार भयो । ५५० कित्ता सेयर २ करोड ३३ लाख ९ हजार ३२६ रुपैयाँमा किनबेच भएको छ ।

पहिलो कारोबार ४१ हजार रुपैयाँमा भएको कम्पनीको सेयर घटेर ४० हजार ४७४ रुपैयाँमा झरे पनि पछि बढेर ४४ हजार २०९ रुपैयाँ पुगेको थियो । तर, ४२ हजार ९०० रुपैयाँमा अन्तिम कारोबार भएको छ ।

कम्पनीले गत आवको नाफाबाट सेयरधनीलाई १५८० रुपैयाँ लाभांश प्रस्ताव गरेको छ । कम्पनीले मंसिर २६ का लागि साधारण सभा बोलाएको छ ।

साधारणसभाबाट पारित भएपछि सेयरधनीले लाभांश पाउनेछन् । सभाका लागि मंसिर १२ देखि २६ सम्म बुक क्लोज गरिएको छ । मंसिर ११ सम्म कायम रहेका सेयरधनीले कम्पनीले तोकेको लाभांश पाउनेछन् ।

युनिलिभर नेपालले चालु आवको पहिलो त्रैमासमा ५५ करोड २५ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो गत आवको सोही अवधिको तुलनामा ६२.२१ प्रतिशतले बढी हो । कम्पनीको सञ्चालन आम्दानी ३.७४ प्रतिशतले बढेर २ अर्ब ३२ करोड रुपैयाँ पुगेको छ ।

कम्पनीको प्रतिसेयर आम्दानी बढेर २२ सय २२ रुपैयाँ छ भने प्रतिसेयर नेटवर्थ ५ हजार ३ सय ३७ रुपैयाँ छ ।


क्लिकमान्डु