झापामा रबर उद्योगमा आगलागी, ३५ लाखको क्षति



झापा । मेचीनगर नगरपालिका १२ स्थित प्राकृतिक रबर उद्योगमा आगलागी हुँदा ३५ लाखको क्षति भएको छ ।

जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी खगेन्द्र रिजालका अनुसार शुक्रबार बिहान ९ बजेतिर उद्योगको स्मोक हाउसबाट अचानक सल्किएको आगोले मेसिनरी र भण्डारण कक्षमा क्षति पुर्‍याएको हो ।

आगलागीबाट उद्योगको रोलर मेसिन र स्मोक हाउसमा पूर्णरुपमा क्षति पुगेको र भण्डारण गरेर राखिएको १० टन तयारी रबर खरानी भएको उद्योगका सञ्चालक शान्तिराम चिमरियाले बताए ।

भण्डारण कक्षमा राखिएको डेढ सय मन धानसमेत जलेको छ । मेचीनगर नगरपालिकाबाट आएको दुईवटा दमकलले स्थानीयवासीको सहयोगमा आगो निभाएका थिए ।

झापामा प्राकृतिक रबरको खेती र उत्पादन हुँदै आएको छ । रबरको रुखबाट संकलन गरिने दूध जस्तै देखिने तरल पदार्थलाई प्रशोधन गरेर तयारी रबर बनाउने गरिन्छ । आगलागी भएको उद्योग रबर जोनमार्फत सरकारको समेत अनुदानमा स्थापना भएको थियो ।

शुक्रबार बिहान नै गौरादह २ का मुक्तिप्रसाद मिश्रको गोठमा आगलागी हुँदा १ लाख ६० हजार रुपैयाँबराबरको क्षति भएको प्रहरीले जनाएको छ । खोले पकाउने क्रममा अचानक गोठमा सल्किएको आगोका कारण एउटा बाच्छी जलेर मरेको छ भने एउटा गाई घाइते भएको छ ।

गौरादह र कमल गाउँपालिकाको दमकल, स्थानीयवासी र प्रहरीले गोठमा लागेको आगो निभाएका थिए ।


क्लिकमान्डु