आफूलाई नजरबन्दमा राखिएको भन्दै सर्वोच्च पुगे दुर्गा प्रसाईं
काठमाडौं । आफूलाई गैरकानुनी नजरबन्दमा राखिएको भन्दै व्यवसायी दुर्गा प्रसाईं सर्वोच्च अदालत पुगेका छन् ।
प्रसाईंका तर्फबाट वरिष्ठ अधिवक्ता डा.सुरेन्द्र भण्डारीले बन्दी प्रत्यक्षीकरण रिट दर्ता गराएका हुन् । रिटमा जिल्ला प्रशासन कार्यालय भक्तपुर र जिल्ला प्रहरी कार्यालय भक्तपुरलाई विपक्षी बनाइएको छ । उक्त रिट निवेदनमाथि आइतबार सुनुवाइ हुने भएको छ ।
शुक्रबार प्रसाईंको भक्तपुरस्थित निवास आसपास बाक्लो सुरक्षा उपस्थिति बनाइएको छ । तर प्रमुख जिल्ला अधिकारी रोशनी श्रेष्ठले भने प्रसाईंलाई नजरबन्दमा राखिएको नभइ सुरक्षा दिएको बताएकी थिइन् । नजरबन्दमा राखिएको भनिएको बेला प्रसाईंले घरमै पत्रकारसम्मेलन गरेका थिए ।
प्रसाईंले आजबाट तीनकुनेमा प्रदर्शनको तयारी गरेका थिए भने काठमाडौं प्रशासनले अनुमति प्रदान नगरिएको बताएको थियो।
बिहीबार बल्खुमा आयोजित कार्यक्रममा प्रसाईंका कार्यकर्ता र प्रहरीबीच भुठभेड भएको थियो । त्यसक्रममा दर्जनबढी प्रदर्शनकारी घाइते भएका थिए ।
प्रहरीले करिब ४ दर्जन प्रसाईंका कार्यकर्तालाई नियन्त्रणमा लिएको छ ।