दुर्गा प्रसाईंलाई प्रशासनले भन्योः गैरकानूनी हर्कत काठमाडौंमा चल्दैन
काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले जारी बिरोध प्रदर्शनलाई सुरक्षित र व्यवस्थित बनाउन उपत्यकामा सुरक्षा व्यवस्था मजबुत बनाएको बताएको छ ।
शुक्रबार जिल्ला प्रशासन कार्यालय काठमाडौंले उपत्यकाको सुरक्षा व्यवस्थालाई मध्यनजर गरी बोलाएको सुरक्षा निकायको बैठकपछि काठमाडौंका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले आन्दोलनलाई सुरक्षित बनाउन उपत्यकाको सुरक्षा व्यवस्था मजबुत बनाएको बताए ।
बैठकमा काठमाडौंको सुरक्षा चुनौती विश्लेषण गरिएको र यथोचित सुरक्षा प्रवन्ध मिलाउने बारेमा सम्बन्धित निकायहरुसँग छलफल गरेको उनले बताए ।
‘हिजोदेखि दुई वटा पक्षको काठमाडौंमा कार्यक्रम थियो । आज एउटा पक्षले त्यो कार्यक्रमलाई निरन्तर रुपमा अनिश्चित कालसम्म गर्ने भनेर अघि बढाइरहेको छ । त्यो सन्दर्भमा काठमाडौंको सुरक्षा चुनौति विश्लेषण गर्ने र यथोचित सुरक्षा प्रवन्ध मिलाउने सन्दर्भमा हामी बसिरहेका छौँ’ उनले भने ।
व्यवसायी दुर्गा प्रसाईं नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानले तीनकुनेमा कार्यक्रम गर्न अनुमति नलिएको र निषेधित क्षेत्र तोड्ने, सार्वजनिक सम्पत्तिमाथि क्षति पुर्याउने, विशिष्ट पदाधिकारीको निवासमा घेराउ गर्ने उनीहरुमाथि आक्रमण गर्ने कार्यक्रम सार्वजनिक गरेकाले तीनकुने क्षेत्रमा कार्यक्रम गर्न नदिइएको उनले स्पष्ट पारे ।
कानून हातमा लिने कुप्रयास गर्ने समूह र व्यक्तिलाई चेतावनी स्वरुप अनुमति बिना कार्यक्रम गर्न नपाइने व्यवस्था गरेको उनको भनाइ छ ।
कार्यक्रमलाई शान्तिपूर्ण बनाउनुपर्ने ठाउँमा बिहीबार साँझ पत्रकार सम्मेलन गरी कानूनलाई चुनौती दिने र गैरकानूनी कार्यक्रम सार्वजनिक गरेको भन्दै गैरकानूनी हर्कत काठमाडौंमा नचल्ने प्रमुख जिल्ला अधिकारी बस्नेतले चेतावनी दिए ।
‘संविधानमा प्रदत्त नागरिकको अभिव्यक्ति, स्वतन्त्रता हक र बिना हातहतियार भेला जम्मा भइ शान्तिपूर्ण रुपमा कार्यक्रम गर्न पाउने हकको सम्मान गर्दै यस्ता अराजक भीड जसले कानून हातमा लिन खोजेको छ, त्यस्ता समूह र व्यक्तिलाई चेतावनी स्वरुप अनुमति बिना कार्यक्रम गर्न पाइँदैन भनेका छौँ,’ उनले भने, ‘ उहाँहरुले कार्यक्रमलाई शान्तिपूर्ण बनाउनुपर्ने ठाउँमा हिजो बेलुका कानूनलाई चुनौति दिने र गैरकानूनी हर्कत गर्ने काम गर्नुभयो । यस्ता गैरकानूनी हर्कत काठमाडौंमा चल्दैन ।’
प्रसाईंलाई प्रशासनले नजरबन्दमा नराखेको बरु काठमाडौं छिरेदेखि सुरक्षा प्रवन्ध गर्दै आएको उनले बताए ।