तिहारमा २४ करोड रुपैयाँको फूलको कारोबार, ३५ लाख माला खपत



काठमाडौं । तिहारमा २४ करोड रुपैयाँबराबरको फूलको कारोबार भएको छ । अघिल्लो वर्षको तिहारमा २६ करोडको कारोबार भएकामा यो वर्ष २ करोड कम कारोबार भएको हो ।

यो वर्ष फूलको उत्पादन राम्रो भए पनि मूल्य कम हुँदा गत वर्षको तुलनामा कारोबारमा कमी आएको पुष्प व्यवसायीको छाता संस्था नेपाल फ्लोरिकल्चर एसोसिएसनका अध्यक्ष मीनबहादुर तामाङले जानकारी दिए ।

‘गत वर्षको तिहारमा एक सयमा फूलको माला बिक्री भएको थियो भने यो वर्ष औसत ६५ रुपैयाँमा उपभोक्ताले फूल खरिद गरेका थिए, कारोबार कम हुनुको मुख्य कारण नै फूलको मूल्य कमी हुनु हो,’ उनले भने ।

तिहारमा ३१ करोड २८ लाख मूल्यबराबरको फूलको कारोबार हुने अनुमान एसोसिएसनको थियो । यो वर्ष ७० प्रतिशत भारतीय फूल प्रयोग भएको र ३० प्रतिशतमात्रै नेपालमै उत्पादित फूल प्रयोग भएकाले नेपाली उत्पादनले राम्रो बजार नपाएको अध्यक्ष तामाङको विश्लेषण छ ।

भारतबाट ल्याई कोल्ड स्टोरमा राखिएको माला सस्तो पाउने भएपछि नेपाली फूलले समेत मूल्य नपाएको उनले बताए । यो वर्षको तिहारका लागि ४० लाख सयपत्री फूलको माला खपत हुने अनुमान गरिएको भए पनि ३० लाख सयपत्री, मखमली गोदावरी र मिक्स माला गरी जम्मा ३५ लाख फूलको माला खपत भएको बताइएको छ ।

बजार माग वृद्धिसँगै काठमाडौँ, ललितपुर, भक्तपुर, कास्की, चितवन, मकवानपुर, काभ्रे, गुल्मी, पाल्पा, धादिङ, मोरङलगायत ४८ जिल्लामा अहिले फूलखेती गरिन्छ ।

नेपालमा हाल व्यावसायिक रूपमा ४५० प्रजातिका फूल उत्पादन हुँदै आएको छ । नेपालमा लगभग २२१ हेक्टरमा करिब १ हजार २ सय व्यवसायीले फूलखेती गर्दै आएका छन् ।

यो वर्ष १ लाख मखमली फूलको माला विदेश निर्यात भएको छ । अष्ट्रेलिया, अमेरिका र खाडी मुलुकहरुमा माला निर्यात भएको हो ।


क्लिकमान्डु