अर्गानिक तोरीको तेलको माग उच्च, कलकलले थप्यो मेशिन
भक्तपुर । कलकल ग्रुपले उत्पादन गरिरहेको शुद्ध तोरीको तेलको माग उच्च भएको छ । माग उच्च भएपछि भक्तपुरको कटुञ्जेस्थित कलकल ग्रुपले तेल उत्पादन गर्न मेशिन थप गरेको छ ।
तेलको माग धानिनसक्नु भएपछि अर्को मेशिन पनि थपेको संस्थाका प्रमुख कार्यकारी अधिकृत समिरनारायण श्रेष्ठले जानकारी दिए । हाल सञ्चालनमा रहेका मेशिनबाट मात्रै माग धान्न नसकिएपछि नौ भोल्टको एक्सपेलर मेसिन थप गरिएको श्रेष्ठले बताए ।
पछिल्लो समय स्वास्थ्यप्रति सर्वसाधारण सचेत हुँदै गएकाले स्वदेशी अर्गानिक खाद्यवस्तु उपभोग गर्ने प्रवृत्ति बढ्दै गएको कलकल ग्रुपका अधिकारीहरु बताउँछन् ।
कलकल ग्रुपका अध्यक्ष रविराज कार्कीले आफूले गत साधारणसभामै आम उपभोक्ताले कलकल शुद्ध तोरीको तेल खान पाउन् भन्ने उद्देश्यले मेशिन थप्न कुरा उठाएको स्मरण गरे ।
अहिले चलिरहेका मेशिनले मात्रै सबै उपभोक्तालाई शुद्ध तोरीको तेल पुर्याउन कठिनाइ हुने भएकैले नयाँ मेशिन थपेको उनले स्पष्ट पारे । बडादशैँलगत्तै नयाँ मेशिनबाट पनि तेल उत्पादन शुरु गर्ने र मेशिन चलाउन अर्का एक कर्मचारी पनि थप गरिएकोसमेत अध्यक्ष कार्कीले जानकारी दिए ।
यसैबीच, कलकल ग्रुपमा हालै ल्याइएको तेल पेल्ने नयाँ मेशिन अहिले सञ्चालनमा रहेका मेशिनहरुजस्तै उच्च गुणस्तरयुक्त रहेको संस्थाकी संस्थापक अध्यक्ष सरिता शर्माले जानकारी दिइन् ।
चालू अवस्थामा रहेका मेशिनले अहिलेसम्म निर्वाध ढङ्गले तेल उत्पादन गर्दै आएको जानकारी दिँदै संस्थापक अध्यक्ष सरिताले ती मेशिनहरु दुई/तीन सिफ्टसम्म चल्दा पनि अहिलेसम्म कुनै खराबी नआएको स्पष्ट पारिन् । कोरोना महामारी र लकडाउनका कठिन दिनहरुमा पनि दुई/तीन सिफ्टसम्म तोरीको तेल उत्पादन गरेर उपभोक्ताको घर–घरमा आफूहरुले पुर्याएको स्मरण गर्दै संस्थापक अध्यक्ष सरिताले तेलको बढ्दो माग धान्न नयाँ मेशिन सक्षम हुने विश्वास व्यक्त गरिन् ।
कलकलले उत्पादन गर्दै आएको शुद्ध तोरीको तेल साह्रै स्वादिलो भएकैले यसमा उपभोक्ताको आकर्षण बढ्दै गएको संस्थापक अध्यक्ष सरिताको भनाइ छ । पछिल्लो समय कलकल शुद्ध तोरीको तेल नेपाली सेनाले समेत उपभोग गर्दै आएको जानकारी दिँदै संस्थापक अध्यक्ष सरिताले बिगमार्टका ७० वटा शाखाहरुबाट पनि तेलको राम्रो बिक्री भइरहेको जानकारी दिइन् ।
शुद्ध तोरीको तेलबाहेक कलकल ब्रान्डका मीठे फापरको पिठो, मुसुरोको दाल, क्वाँटी, मकैको च्याँख्ला, जुम्लाको सिमीको दाल, खसर, जिम्बु जस्ता खाद्यवस्तुहरु पनि उपभोक्ताको रोजाइमा पर्दै गएको संस्थापक अध्यक्ष सरिताको भनाइ छ ।