वीर अस्पताल नर्स र पारामेडिक्सका ६३ दरबन्दी थप
काठमाडौंः चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) मा नर्स र पारामेडिक्सका गरी ६३ वटा दरबन्दी थप गरिएको छ । सहकुलपतिसमेत रहेका स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतको अध्यक्षतामा आइतबार बसेको सिनेट बैठकले ६३ दरबन्दी थप गरी तत्काल करारमा कर्मचारी राख्ने निर्णय गरेको हो ।
केही फार्मेसी सहायक, ३० जना स्टाफ नर्स, इलेक्ट्रिसियन ४, प्लम्बर ६ जना, चालक र सहायक गरी १० जनाको दरबन्दी पनि स्वीकृत गरेको छ । न्याम्समा तीन जना सिनेट सदस्य थपिनुका साथै तीन जनालाई प्राज्ञिक परिषदमा नियुक्त गरिएको जनाइएको छ ।
बैठकले नाक, कान, घाँटीतर्फ स्पिच थेरापीका लागि एक जना अडियोलोजिस्ट, रेडियोग्राफर (एक्सरे गर्ने) पाँच, एनेस्थेसिया सहायक पाँच र ल्याब टेक्निसियन (पाँचौं तह) पाँच जनाको दरबन्दी स्वीकृत गरेको प्रतिष्ठानले जनाएको छ ।