सुन तस्करीका अभियुक्त पूर्वसभामुख कृष्णबहादुर महराका छोरा राहुल पुर्पक्षका लागि थुनामा
काठमाडौं । काठमाडौं जिल्ला अदालतले विद्युतीय सिगरेट (भेप) मा लुकाएर सुन तस्करी गरेको अभियोग लागेका पूर्वसभामुख कृष्णबहादुरका छोरा राहुललाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ । थुनछेक बहसपछि महरालाई थुनामा पठाउन आदेश भएको हो ।
राहुलसहित ४ जनाविरुद्ध बुधबार जिल्ला अदालतमा मुद्दा दर्ता भएको थियो । उनीहरुविरुद्ध संगठित अपराध र भन्सार छलीको अभियोगमा मुद्दा दायर भएको हो । न्यायाधीश डण्डपाणि शर्माको एकल इजलासले घटनामा उनी संलग्न रहेको प्रारम्भिक निष्कर्ष निकाल्दै थुनामा पठाउनुपर्ने आदेश गरेको हो ।
जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले बुधबार राहुलसहित चिनियाँ तस्करका सहयोगी लोकेन्द्र पौडेल, हाल ६१ केजी सुन तस्करी प्रकणरमै थुनामा रहेका दावा छिरिङ र काभ्रेका निमा गुरुङविरुद्ध मुद्दा दायर गरेको थियो ।
भेपमा लुकाए ल्याएको करिब ९ किलो सुन तस्करीको अभियोगमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले अनुसन्धनान गरी रायसहितको प्रतिवेदन सरकरी वकिलको कार्यालयलाई बुझाएको थियो । सीआईबीको रायअनुसार सरकारी वकिलको कार्यालयले मुद्दा दायर गरेको हो ।
उनीहरूविरुद्ध अपराधिक विश्वासघात, भन्सार चौरी पैठारी तथा संगठित अपराधसम्बन्धी कसुर गरेको आरोप छ । उनीहरूबाट ७३० थान भेपबाट ९ किलो ११ दशमलव ५२४ ग्राम परिमाणको सुन तस्करी गरिएको ठहरसहित ८ करोड ५५ लाख २८ हजार ३७४ रूपैयाँ बिगो मागदाबी गरिएको छ ।
प्रतिवादीहरूलाई कसुरको प्रकृतिअनुसार बिगोको आधारमा ३ देखि ५ वर्षसम्मको सजाय मागदाबी गरिएको छ । दुबईबाट २०७९ पुस १० गते चिनियाँ तस्कारले भेपमा लुकाएर ल्याएइको सुन विमानस्थल भन्सार कार्यालयले नियन्त्रणमा लिएको थियो । शंकास्पद रुपमा भेप ल्याएको पाइएपछि नियन्त्रणमा लिएर सामान गोदाममा सिल गरेर राखिएको थियो । तर त्यही सिल गरेकै अवस्थामा भेप चोरी भएको थियो । त्यसको अनुसन्धान गर्ने क्रममा भेपमा सुन आएको पाइएको थियो ।