स्पेनमा आतंकबादी हमला, विश्व समुदायद्धारा निन्दा
बार्सिलोना । स्पेनको बार्सिलोना सहरमा बिहीबार अपराह्न भएको आतङ्ककारी हमलाको सर्वत्र निन्दा गरिएको छ ।
उक्त हमलामा परी कम्तीमा पनि १३ जनाको ज्यान गएको छ । उक्त शक्तिशाली हमलामा परी अरु पनि करिब १०० जना नराम्ररी घाइते भएका बताइएको छ ।
भ्यानबाट भएको आक्रमणमा परी ती नागरिकको ज्यान गएको एकजना स्पेनिस अधिकारीले जानकारी दिएका छन् ।
स्पेनका गृहमन्त्री जोकिम फोर्नले भने-सो घटना आतङ्ककारी नै हो, यसमा संलग्नहरुको पहिचानको खोजी हामीले गरिरहेका छौँ ।
बिहीबार अपराह्न पाँच बजे सो सहरमा नागरिकको बाक्लो उपस्थिति रहेको स्थानमा भ्यान लगेर ठोक्काई हमला गरिएको थियो ।
स्पेनमा भएको निकै लामो समयपछिको यो ठूलो हिंसात्मक हमला हो । सन् २००४ पछि स्पेनमा यो पहिलो पटक यस्तो हिंसात्मक हमला भएको हो ।
सो हमलाको जिम्मेवारी कुनै समूह वा व्यक्तिले पनि लिएको छैन । त्यसको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
हमलाको सर्वत्र निन्दा
यसैबीच उक्त हमलाको विश्वव्यापी रुपमा निन्दा गरिएको समाचार छ । उक्त हमलाको निन्दा गर्दै त्यसमा संलग्नहरुमाथि कडा भन्दा कडा कारबाही गर्न विश्वका नेताहरुले माग गरेका छन् ।
संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले उक्त आतङ्ककारी हमला गरी १३ जना नागरिकको ज्यान लिने काम मानवता विरोधी जघन्य अपराध हो भनेका छन् ।
उनले यस्तो आतङ्ककारी हमलाको तत्कालै अन्त्य हुनुपर्नेमा जोड दिँदै यसमा संलग्नहरुलाई कानुनी कठघरामा ल्याउन स्पेन सरकार सफल हुने अपेक्षा गरेका छन् ।
त्यसैगरी क्यानाडेली प्रधानमन्त्री जस्टिन ट्रयुडेउले पनि सो आतङ्ककारी हमलाको निन्दा गरे ।
एक प्रेस विज्ञप्ति प्रकाशन गर्दै प्रधानमन्त्री जस्टिनले यस्ता प्रकारका आतङ्ककारी क्रियाकलापहरुका विरुद्धमा क्यानाडा अन्तर्राष्ट्रिय समुदायसँग ऐक्यबद्ध भएर लड्ने पनि बताए ।
यसैगरी उक्त आतङ्ककारी हमलाको डेनमार्कका प्रधानमन्त्री लार्स लुक्के रसमुसेनले पनि कडा शब्दमा निन्दा गरेको समाचारमा जनाइएको छ ।
उनले आतङ्कवादलाई विश्वव्यापी रुपमा नै निर्मूल पार्न आवश्यक जस्तोसुकै कामगर्न पनि डेनमार्क तयार रहेको पनि उनले प्रतिबद्धता व्यक्त व्यक्त गरेका छन् ।