आयोजना प्रभावितले नकिनेको सेयर थपेर आईपीओ निष्कासन गर्दै चिरख्वा हाइड्रोपावर
काठमाडौं । चिरख्वा हाइड्रोपावर कम्पनीले सर्वसाधारणका लागि साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ ।
कम्पनीले असोज २३ गतेदेखि सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्न लागेको हो ।
यसअघि कम्पनीले ८० हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपाली, १६ हजार कित्ता सामूहिक लगानी कोष र ४० हजार कित्ता सेयर कम्पनीका कर्मचारीचारीका लागि निष्कासन गरिसकेको छ भने आयोजना प्रभावित स्थानीयका लागि ४ लाख कित्ता सेयर निष्कासन गरिसकेको छ ।
कम्पनीले आयोजना प्रभावित स्थानीयका लागि निष्कासन गरेको सेयरमा २ लाख ४ हजार ७ सय कित्तामा मात्रै आवेदन परेको छ । आवेदन नपरेको १ लाख ९५ हजार ३ सय कित्ता सेयर थपेर ८ लाख ५९ हजार ३ सय कित्ता सेयर सर्वसाधारणका लागि निष्कासन गर्ने छ । आईपीओमा २६ गतेसम्म आवेदन दिन सकिनेछ । उक्त अवधिमा माग अनुसार आवेदन नपरेको खण्डमा कात्तिक ३ गतेसम्म आवेदन दिन सकिने छ ।
आईपीओमा न्यूनतम १० देखि अधिकतम १ लाख कित्तासम्म आवेदन दिन सकिने छ । आवेदन सी–आस्वा सदस्य रहेका बैंक तथा वित्तीय संस्था र मेरो सेयरमार्फत सेयर दिन सकिने छ । बिक्री प्रबन्धकमा आरबीबी मर्चेन्ट बैंकिङ रहेको छ ।